पीएसजीको यात्रा टुंगियो

0
Shares

लन्डन, (एजेन्सी) ।

फ्रान्समा जारी कप डी फ्रान्स प्रतियोगिताबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) को यात्रा टुंगिएको छ । सोमबार राति लिग वान प्रतिद्वन्द्वी निससँग टाइब्रेकरमा ६–५ गोलअन्तरले पराजित हुँदै पीएसजी प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिएको हो । घरेलु मैदान पार्क डस प्रिन्सेसमा पीएसजीले निर्धारित समयसम्म पाहुना टोलीलाई लगातार दबाबमा राखे पनि निसको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा पराजित हुँदै बाहिरिन पुग्यो । निर्धारित समयसम्म दुवै टोली गोलविहिन बनेपछि खेल टाइब्रेकरसम्म लम्बिएको थियो । टाइब्रेकरमा निसका ७ मध्ये ६ जनाले गोल गर्दा पीएसजीले दुई पेनाल्टीमा गोल गर्न सकेनन् ।

निसका मोर्गान, जिन क्लेइर टोविडो, युसेफ एटल, एमिन गोइरी, इभान गेस्सान्ड र डान्टेले गोल गर्न सफल हुँदा एन्डी डेलोर्टले गोल गर्न सकेनन् । यता पीएसजीका लियोनेल मेस्सी, केलियन एमबाप्पे, जुलियन ड्राक्सलर, मार्को भेराट्टी र जुआन बर्नाटले गोल गर्दा तेस्रो पेनाल्टीमा लियान्द्रो ड्यानियल पारेडेस र सातौंमा जाभी सिमोन्सले गोल गर्न सकेनन् ।

उक्त खेलमा मेसीले १० नम्बरको जर्सी लगाएर खेलेका थिए । चोटका कारण नेयमार भने टोलीमा नरहेपछि मेसी १० नम्बरको जर्सीमा मैदान प्रवेश गरेका थिए । यसअघि मेसीलाई पीएसजीमा सिजनको सुरुआतमा ३० नम्बरको जर्सी प्रदान गरिएको थियो । तर, निसविरुद्धको खेलमा उनले आफ्नो पूरानो १० नम्बरको जर्सी नै लगाएर खेले । पीएसजीमा १० नम्बरको जर्सी सिजनभर नेयमारले प्रयोग गर्दै आएका थिए । गत नोभेम्बरमा सेन्ट इटिएनविरुद्ध लिग वानमा बायाँ घुँडामा चोट बोकेका नेयमारले निसविरुद्ध नखेल्ने पक्का भएपछि नै मेसीलाई अस्थायी रूपमा १० नम्बर जर्सी प्रदान गरिएको हो ।