होल्डरले लिए लगातार ४ बलमा ४ विकेट



लन्डन, (एजेन्सी) ।

जेसन होल्डरले चमत्कारी बलिङ गरेपछि वेस्ट इन्डिजले इंग्ल्यान्डविरुद्धको ५ खेलको टी–२० सिरिज ३–२ ले हात पारेको छ । आइतबार भएको निर्णायक खेलमा वेस्ट इन्डिजले पाहुना टिम इंग्ल्यान्डलाई १७ रनले हराएको हो । घरेलु टिमलाई जित दिलाउन टिमका पूर्व कप्तान होल्डरले अन्तिम ओभरमा ४ बलमा चार विकेट लिएका थिए । बार्बाडोसमा भएको खेलमा इंग्ल्यान्डको लागि जित्न ६ बलमा २० रनको आवश्यक थियो । होल्डरले पहिलो बल नो बल फ्याँके, यसमा इंग्ल्यान्डले दुई रन बटुल्यो । अर्को बलमा उनले रन दिएनन् ।

दोस्रो बलमा होल्डरले क्रिस जोर्डनलाई लेग साइड बाउन्ड्रीमा हेडन वाल्शद्वारा क्याच आउट गरे । तेस्रो बलमा साम बिलिंग्सलाई त्यही दिशामा वाल्सकै हातबाट क्याच आउट गराएर पभेलियन फर्काएका थिए । चौथो बलमा आदिल रासिदलाई लेग साइड बाउन्ड्रीमै ओडेन स्मिथद्वारा क्याच आउट गराउँदा उनको ह्याट्रिक पूरा भएको थियो ।

त्यसपछि अन्तिम दोस्रो बलमा सकिब महमूदलाई होल्डरले क्लिन बोल्ड गरेर वेस्ट इन्डिजलाई सिरिज दिलाएका थिए । योसँगै होल्डर टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ४ बलमा ४ विकेट लिने विश्वका चौथो बलर बनेका छन् । त्यस्तै, टी–२० मा ह्याट्रिक गर्ने उनी वेस्ट इन्डिजका पहिलो बलर हुन् । प्लेयर अफ द म्याच घोषित उनले २.५ ओभरमा २७ रन दिएर ५ विकेट लिएका थिए ।

वेस्ट इन्डिजले पहिले ब्याटिङ गरेर निर्धारित २० ओभरमा ४ विकेटको नोक्सानीमा १ सय ७९ रन बनाएको थियो । टिमका लागि ब्रेन्डन किंग र काइल मेयर्सले सानदार शुरुवात दिलाएका थिए । किंगले ३४ रन बनाए भने मेयर्सले ३१ रन जोडेका थिए । त्यसपछि, कप्तान किरोन पोलार्डले २५ बलको सामना गरी नटआउट हुँदै ४१ रनको ठोस योगदान दिए । त्यस्तै, रोभम्यान पावेल १७ बलमा ३५ रन जोडेर नटआउट रहे । इंग्ल्यान्डको बलिङमा रासिदले २ विकेट लिए ।

जवाफमा इंग्ल्यान्डलाई जेम्स भिन्सले सानदार खेल देखाए । तर, उनी ५५ रनमा पुग्दा अकिल होसेनको बलमा आउट भएका थिए । बायाँ हाते स्पिनर होसेनले लगातार तीन ओभरमा हरेक ओभरमा एक–एक विकेट लिएका थिए । उनले ४ विकेट लिँदै इंग्ल्यान्डलाई ६ विकेटको पतनमा १ सय १९ रनमा खुम्च्याइदिएका थिए । पछि साम बिलिंग्सले जित दिलाउन कोशिस गरे, तर उनी होल्डरको बलमा आउट भएका थिए । उनले २८ बलमा ४१ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्