स्थगित भएको खेल माघ २२ गते हुने



काठमाडौं ।

शहिद स्मारक ए डिभिजन लिगको नवौं चरणमा स्थगित भएको एक खेल यही माघ २२ गते शनिबार हुने अखिल नेपाल फुटबल संघले जनाएको छ । विभागीय टिम नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल स्थगित भएको थियो । माघ २ गते खेल हुनुपर्ने उक्त खेल कोरोनाको कारण स्थगित भएको थियो । च्यासलका खेलाडीलाई कोरोना संक्रमण भएपछि खेल्ने वातावरण मिलेको थिएन । यद्यपि, त्यो दिन पुलिसको टिम खेल्न तयार भइसकेको थियो ।

पुलिसको लागि उक्त खेल जित्नैपर्ने दबाब छ । पुलिसको जारी लिग निकै खराब चलिरहेकोले अंकतालिकामा पनि ११औं स्थानमा रहन बाध्य भएको छ । पुलिसले यस सिजनको लिगमा ८ खेल खेल्दा मात्र १ खेलमा जित हात पारेको छ । पुलिसले एक मात्र जित जावलाखेल युथ क्लबविरुद्ध हासिल गरेको थियो । पुलिसले अन्य खेलमा ४ वटामा बराबरी खेल्यो भने ३ खेलमा हार बेहोरेको छ ।

पुलिससँग ७ अंक मात्रै रहेको छ । पुलिस रेलिगेसन क्षेत्रबाट मात्र २ अंकले सुरक्षित छ । १३औं स्थानमा रहेको च्यासलसँग ५ अंक छ । च्यासलले पनि १ खेलमा मात्रै जित हासिल गरेको छ भने ५ खेलमा हार बेहोरिसकेको छ । च्यासलको लागि पनि पुलिसविरुद्धको खेल जित्नै पर्ने ठूलो दबाब छ । च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले एक खेल जितेमा टिमको प्रदर्शन फरक हुने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्