पुष्पलाल स्मृति ब्याडमिन्टन फागुनमा



काठमाडौं ।

पुष्पलाल स्मृति र्याङ्गकिङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको ११औं संस्करण आगामी फागुन ३ देखि ७ गतेसम्म आयोजना हुने भएको छ । नखिपोट, ललितपुरमा आयोजना हुने यस संस्करणमा नखिपोट युथ क्लब (ब्याडमिन्टन सर्कल) ले प्रतियोगितालाई साथ दिँदै संयुक्त आयोजकको रूपमा आफूलाई साझेदारी गराएको छ । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता योनेक्स पुष्पलाल स्मृति र्याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको नामबाट सञ्चालन हुने पनि आयोजकले जनायो । प्रतियोगितालाई योनेक्स सनराइजले प्रायोजन गरेको छ । यस्तै, संघसँग आबद्ध ४७ जिल्ला, नेपाली सेना, नेपाल पुसिल र नेपाल एपीएफ क्लब गरि ५० संस्थाका खेलाडीहरूले सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा पुरुष एकल (राष्ट्रिय वरीयतामा १६औं स्थानमा रहेका ), पुरुष एकल (१६ औ वरीयता देखि बाहेकका), पुरुष युगल (खुला), महिला एकल (राष्ट्रिय वरीयतामा १२औं स्थानमा रहेका), महिला एकल (१२ औं वरीयतादेखि बाहेकका), महिला युगल (खुला), यु १७ महिला तथा पुरुष एकल (खुला), भेट्रान्स ४५ वर्षमाथि र मास्टर्स ५५ वर्ष माथि (खुला) गरि १० विधामा प्रतिस्पर्धा हुने संघका महासचिव सुनील मान शाक्यले जानकारी गराएका छन् ।

कुल २१ लाख ६० हजार लागत रहको प्रतियोगितामा पुरस्कारतर्फ ५ लाख ९८ हजार खर्च रहेको छ । लिग चरणको पुरुष एकल ( राष्ट्रिय वरीयतामा १६औं स्थानमा रहेका ) र महिला एकल ( १२ औं स्थानमा रहेका) तर्फ प्रतिस्पर्धा गर्ने खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाएबापत नगद १५ सय प्राप्त गर्नेछन् ।

यस्तै, लिग चरणमा विजयी हुने प्रत्येक खेलाडीले थप १५ सय प्राप्त गर्नेछन् । यस्तै, क्वार्टरफाइनलमा विजयी हुने खेलाडीहरूले थप ८ हजार, सेमिफाइनलमा विजयी खेलाडीले थप १६ हजार प्राप्त गर्नेछन् । यसैगरी फाइनलमा विजयी खेलाडीले थप २० हजार र उपविजेता खेलाडीले थप ५ हजार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

यस्तै, अन्य विधामा पुरुष एकल (उच्च १६ देखिबाहेक) र महिला एकल (उच्च १२ देखिबाहेक), पुरुष तथा महिला युगल, भेट्रान्स युगल ४५ वर्षमाथि र मास्टर्स युगल ५५ बर्ष माथिका विजयीले क्रमशः प्रथमले २० हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार नगद प्राप्त गर्नेछन् । यु १७ पुरुष तथा महिला एकलतर्फ विजयीले क्रमश प्रथमले १५ हजार, द्वितीयले ८ हजार र तृतीयले ४ हजार प्राप्त गर्नेछन् । यसका साथे विजयीहरूले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने महासचिव शाक्यले जनाए ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको सम्झनामा २०६७ सालदेखि नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघले प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । विगतमा झैं सहभागी खेलाडीको बिहानको खानाको व्यवस्था गरिनेछ । नेपालमा ब्याडमिन्टनको विकास र विस्तार गर्ने क्रममा खेलाडीहरूको वरीयता निर्धारण गर्ने र सीमित मात्रामा भए पनि आर्थिक सहयोग होस् भन्ने उद्देश्यले प्रतियोगितामा सहभागिता जनाएबापत सहभागी खेलाडीले नगद प्राप्त गर्ने प्रावधानलाई प्रचलनमा ल्याउने राष्ट्रिय ब्याडमिन्टन संघ पहिलो संस्था हो ।

प्रतिक्रिया दिनुहोस्