सेनेगल र इजिप्ट सेमिफाइनलमा



लन्डन, (एजेन्सी) ।

गत सिजनको उपविजेता सेनेगल र इजिप्ट अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताअन्तर्गत आइतबार राति भएको क्वार्टरफाइनलमा सेनेगलले इक्वेटोरियल गिनियालाई तथा इजिप्टले मोरोक्कोलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । सेनेगलले इक्वेटोरियल गिनियामाथि ३–१ गेलअन्तरको सहज जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । सेनेगलको जितमा फामरा दिधिओउ, चेइखोउ कोउयाटे र इस्माइला सारले गोल गरेका थिए । इक्वेटोरियल गिनियाका लागि जान्निक बुयाला सामले एक गोल फर्काए ।

खेलको २८औं मिनेटमा फामरा दिधिओउको गोलबाट सेनेगलले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । उनले साडियो मानेको चलाखीपुर्ण पासमा पहिलो बार च्याप्दै सहज गोल गरेका थिए । खेलको ५१औं मिनेटमा इक्वेटोरियल गिनियाले पेनाल्टीको अपिल गरे पनि भीएआरबाट मान्यता पाएन । इवान साल्भाडोरको क्रसमा कोउलीबेलीले पेनाल्टी बक्समा हातले बल छोएको देखिएको थियो ।

खेलको ५६औं मिनेटमा जान्निक बुयाला सामले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । उनले पाब्लो गानेटको पासमा गरेको प्रहारले जाली चुमेको थियो । त्यस्तै, ६८औं मिनेटमा चेइखोउ कोउयाटेले गोल गर्दै सेनेगललाई खेलमा २–१ ले अघि बढाए । उनले गिनियाका दुई डिफेन्डरबीच तालमेल नमिलेको अवस्थामा अघि बढ्दै गोलरक्षकलाई बिट गरी गोल गर्न सफल भएका थिए । खेलको ७९औं मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगलको सहज जित पक्का गरे । उनले सालिओउ सिसको पासमा खाली पोस्टमा गोल गरेका थिए । अब सेनेगलले सेमिफाइनलमा ३ फेब्रुअरीमा बुर्किना फासोसँग खेल्नेछ ।

अर्को क्वार्टरफाइनलमा इजिप्टले मोरोक्कोमाथि २–१ को पुनरागमन जित निकाल्दै सेमिफाइनलमा क्यामरुनसँगको भेट पक्का गर्यो । इजिप्टको जितमा मोहम्मद सलाह र ट्राजिग्वेटले एक–एक गोल गरे । मोरोक्कोका लागि भने सोफिएन बोउफलले एक गोल फर्काए । एक गोलले पछि परेको स्थितिमा स्टार फरवार्ड तथा कप्तान मोहमद सलाहले एक गोल गर्नुका साथै अर्को एक गोलको लागि असिस्ट दिएपछि इजिप्टले पुनरागमन जित निकाल्दै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा स्थान बनाएको हो ।

इजिप्टले मोरोक्कोलाई अतिरिक्त समयमा २–१ ले हराएको हो । आइतबार राति नै भएको प्रतिस्पर्धात्मक खेलको सातौ मिनेटमा सोफिएन बोउफलको पेनाल्टी गोलबाट इजिप्टपछि १–० ले परेको थियो । खेलको दोस्रो मिनेटमा नै अचरफ हाकिमीमाथि एमान असराफले फाउल गरेपछि रेफ्रीले झन्डै चार मिनेटपछि भिएआरको सहायतामा मोरोक्कोलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा बोउफल चुकेनन् ।

खेलमा सम्हालिन नपाउँदै पेनाल्टीमा गोल खान पुगे पनि तथा इजिप्टले मोरोक्कोलाई दबाबमा राखे पनि बराबरी गोलको लागि दोस्रो हाफसम्म कुर्नुपरेको थियो । खेलको ५३औं मिनेटमा कप्तान सलाहले गोल गर्दै इजिप्टलाई खेलमा फर्काए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयसम्म लम्बिएको थियो ।

खेलको एक सयौं मिनेटमा ट्राजिग्वेटले गोल गर्दै इजिप्टलाई २–१ को अग्रता दिलाए । दोस्रो हाफको शुरुमै पहिलो मिनेटमै एहमेद हेगाजीको स्थानमा मैदान छिरेका उनले कप्तान मोहम्मद सालाहको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल नभएपछि इजिप्ट पुनरागमन जित निकाल्न सफल भयो । अब फाइनल प्रवेशका लागि इजिप्टले क्यामरुनसँग २ फेब्रुअरीमा खेल्नेछ । क्यामरुनले शनिबार राति गाम्बियालाई २–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्