कोरोना छल्न दुई युनिटका साथ लाखेको छायांकन



कोरोना संक्रमण दर बढेसँगै फिल्म हल बन्द गराइए पनि स्वास्थ्य सावधानी अपनाउँदै सुटिङ कार्य भने अघि बढिरहेको छ। कोरोना संक्रमण दरमा भएको वृद्धिका कारण केही फिल्मले आफ्नो छायांकन स्थगित गरे पनि केही फिल्मको सुटिङ कार्य भने अघि बढाइएको छ। यसै क्रममा ठूलो बजेटमा निर्माणाधीन फिल्म लाखेको काठमाडौंका विभिन्न स्थानमा धमाधम छायांकन भइरहेको छ।

गत पुसको अत्यबाट छायांकन शुरु गरिएको फिल्मको कोरोना जोखिमका कारण सानो युनिट बनाएर छायांकन आरम्भ गरिएको निर्देशक सम्राट बस्नेतले जानकारी गराए। ‘भव्य शुभ–मर्हूत गरेर फिल्म सुटिङ फ्लोरमा जाने तयारी हाम्रो थियो। तर, कोरोनाको बढ्दो संक्रमणका कारण सरकारले २५ जनाभन्दा बढी एकै स्थानमा सहभागी हुन रोक लगाएकाले सीमित कलाकार र प्राविधिकको संलग्नतामा मन्दिरमा पूजाआजा गरी छायांकन शुरु गरेका हौँ’ निर्देशक बस्नेतले भने ‘फिल्म युनिट धेरै भएकोले अहिले दुई युनिट बनाएर फिल्मको छायांकन गरिरहेका छौँ । एक निर्देशकले एकै समय दुई युनिटसँग काम गर्नु निकै गाह्रो काम रहेछ।’

एउटा फिल्म छायांकनका लागि दुई युनिटले फरक–फरक काम गरेको उनले बताए। यसमा फिल्मका प्राविधिकदेखि धेरै युनिटसमेत दुई सेट चाहिन्छ। त्यसले निर्मातालाई समेत आर्थिक भार पर्न जान्छ। ‘फिल्म सुटिङका लागि दुई युनिट बनाउनु पर्दा आर्थिक भार बढ्नुको अलावा धेरै झन्झट पनि रहेछ’ फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरी भन्छन् ‘आर्थिक कुरो त दोस्रो हो। महत्पूर्ण कुरो त कलाकार र युनिटको सुरक्षा हो। सबैको स्वास्थ्य सुरक्षाका खातिर निर्माण युनिटबाट थप भर व्यहोर्न राजी भयौँ। हामीले पाँच करोड माथिको बजेटमा फिल्म निर्माण गर्न लागेका हौँ। दुई युनिट गर्दा पाँचको ठाउँमा ६ पुग्ला। तर, यसले कलाकार र प्राविधिकको सुरक्षा गर्छ।’

ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा सिजन अर्यालको निर्माण तथा गणेश मल्ल ठकुरीको प्रस्तुति रहने फिल्ममा अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशिल सिटौला, वर्षा राउत, रोहित रुम्बा, सुनील थापालगायतका कलाकारले अभिनय गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्