दर्शनको गोलमा एनआरटीको जित



काठमाडौं ।

जारी सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा न्युरोड टिम (एनआरटी) ले जित हासिल गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई २–० ले हराएको हो । टिमलाई जित दिलाउन दर्शन गुरुङले दुवै गोल गरेका हुन् । यो जितसँगै एनआरटीले ९ खेलबाट १३ अंक जोडेको छ । टिम दुई खुड्किलोको सुधार गर्दै छैटो स्थानमा समेत उक्लियो । उता जावलाखेलको लागि ९ खेलमा पाँचौं हार भएको छ । जावलाखेलसँग ८ अंक रहेको छ ।

दुबै टिमबाट गोल गर्ने मौका गुमाउँदा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । जावलाखेलका लागि रूपबहादुर लामाले दुई खतरनाक प्रहार गरे पनि गोलमा परिणत हुन सकेन । यस्तै, एनआरटीका लागि दर्शन वान भर्सेस वानमै गोल गर्न चुकेका थिए ।

दोस्रो हाफमा पनि केही राम्रा प्रहार भए । स्टेफन विनोङले ५३औं मिनेटमा गोल गर्न चुके । उनको प्रहार पोस्टभन्दा केही इन्च बाहिरिएको थियो । तर, दर्शनले ६९औं मिनेटमा गोल गरेर एनआरटीलाई १–० को अग्रतामा राखे । उनले स्टेफनको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । यसको चार मिनेटपछि दर्शनले अर्को गोल थपेपछि एनआरटीको जारी लिगमा तेस्रो जित सुनिश्चित भएको थियो । दर्शनले स्टेफनकै क्रसमा गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्