ओसाका अस्ट्रेलियन ओपनको दोस्रो चरणमा



मेलबर्न, (एजेन्सी) ।

गत संस्करणमा उपाधि जितेकी जापानी खेलाडी नाओमी ओसाका अस्ट्रेलियन ओपनको दोस्रो चरणमा सहजै पुगेकी छन् । सोमबारदेखि मेलबर्न पार्कमा शुरू भएको प्रतियोगिताअन्तर्गत वोमेन्स सिंगल्सतर्फ ओसाकाले कोलम्बियाकी कामिला ओसोरियोलाई ६–३, ६–३ ले हराएकी हुन् । ओसाकाले पहिलो सेटमा विश्व नम्बर ५० मा रहेकी ओसोरियोविरुद्ध ५–० को अग्रता लिएकी थिइन् ।

ओसाका चार महिनाको विश्राम सकाएर ग्रान्डस्लाममा खेल्न आएकी हुन् । उनले गत सिजनमा मानसिक समस्या भएको भन्दै टेनिसबाट विश्राम लिएकी थिइन् । चार पटकको ग्रान्डस्लाम विजेता ओसाकाको दोस्रो चरणमा अमेरिकी खेलाडी मेडिसन ब्रेन्गलसँग हुनेछ । युक्रेनी प्रतिद्वन्द्वी डायना यास्ट्रेमस्का तेस्रो सेटमा रिटायर्ड भएपछि ब्रेन्गल दोस्रो चरण पुगिन् । खेलमा ब्रेन्गलले ६–१, ०–६, ५–० को अग्रता लिएर जिततिर अग्रसर भएकी थिइन् ।

यस्तै, २०२० की विजेता अमेरिकी खेलाडी सोफिया केनीन भने पहिलो चरणबाटै बाहिरिइन् । गत संस्करणमा पनि पहिलो चरणमै हारेकी उनलाई उनकै देशकी मेडिसन किजले हराएकी थिइन् । कीजले सो खेल ७–६, ७–५ ले आफ्नो पक्षमा पारेकी थिइन् । यसैगरी अमेरिकाकी चर्चित युवा खेलाडी कोको गाउफ पनि पराजित भइन् । १७ वर्षीया कोकोलाई चीनकी वाङ कियाङले ६–४, ६–२ ले निरास पारेकी थिइन् ।

यसैगरी, फ्रेन्च ओपन विजेता बार्बोरा क्रेसिकोभाले जर्मन खेलाडी एन्ड्रिया पेटकोभिचलाई ६–२, ६–० ले माथ खुवाएकी थिइन् । प्रतियोगिताकै दुई पटकको विजेता भिक्टारिया अजारेन्का पनि दोस्रो चरणमा पुगिन् । अजारेन्काले हंगेरीकी पान्ना उडभार्डीलाई ६–३, ६–१ ले पाखा लगाइन् । त्यस्तै, लात्भियाकी युवा खेलाडी यलेना ओस्टापेन्कोले पहिलो सेट गुमाए पनि खेलमा फर्कदै स्लोभाकियाकी अन्ना कारोलिना सिमिड्लोभालाई ६–७, ६–४, ६–१ ले हराउन सफल भइन् ।

नाडाल पनि जिते
मेन्स सिंगल्सतर्फ कीर्तिमानी २१औं ग्रान्डस्लाम उपाधि जित्ने योजनामा रहेका राफायल नाडालले पनि जित हात पारेका छन् । स्पेनी खेलाडीले अमेरिकी खेलाडी मार्कोस गिरोनलाई ६–१, ६–४, ६–२ ले हराएका थिए । पैतालाका चोटको कारण करिब ५ महिना कोर्टबाट बाहिर रहेका नाडाल उपाधिको दाबेदारीसमेत हुन् । उनले अस्ट्रेलियन ओपन २००९ मा विजेता भए यता उक्त उपाधि जित्न सकेका छैनन् ।

नोभाक जोकोभिचलाई स्वास्थ्यको मापदण्डविपरित भएको भन्दै घर फर्काएपछि नाडालको लागि उपाधि जित्ने ठूलो अवसर रहेको टेनिसविज्ञहरूको भनाइ रहेको छ । सर्बियाली खेलाडी जोकोभिचको अस्ट्रेलियन ओपनमा पूरै वर्चश्व रहेको छ । उनले यो प्रतियोगितामा ९ पटक उपाधि जितेर नौलो कीर्तिमान राखेका छन् । जोकोभिच, नाडाल र रोजर फेडेररले समान २० ग्रान्डस्लाम जितेर संयुक्तरूपमा कीर्तिमान राखेका छन् । यदि नाडालले जितेमा उनी मेन्स सिंगल्सतर्फ सर्वाधिक ग्रान्डस्लाम जित्ने सूचीमा एकल कीर्तिमान बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्