पत्रकारको स्वास्थ्य बीमा हुने



काभ्रे, (नेस) ।

धुलिखेल नगरपालिकाको ५३औं नगर कार्यापालिका बैठकले जिल्लाका सबै सञ्चारकर्मीको स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको छ । यसअघि धुलिखेल नगरपालिकाले पत्रकार महासंघको समन्वयमा सूचना केन्द्र स्थापना गर्ने गरी बजेट विनियोजन गरेको थियो ।

‘धुलिखेल नगरपालिकाले काभ्रेपलाञ्चोक जिल्लालाई कार्य क्षेत्र बनाई निरन्तर पत्रकारिता गर्ने पत्रकारहरुको स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको छ’, नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो– ‘पत्रकार महासंघसँगको समन्वयमा पत्रकारको सूची उपलब्ध भएपछि नगरपालिकाले धुलिखेल नगरपालिकामा उपचार गराउने गरी स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको हो ।’ नगरपालिकाले पत्रकारहरुको सूची प्राप्त भएपछि आवश्यक कागजातसहित स्वास्थ्य बीमाका लागि लाग्ने रकम एकमुष्ट बीमा अभिकर्तालाई उपलब्ध गराउनेछ ।

त्यस्तै, कार्यपालिका बैठकले धुलिखेलमा कार्यालय रहेका आन्तरिक राजस्व कार्यालय, जिल्ला निर्वाचन कार्यालय, खानेपानी तथा सरसफाइ कार्यालय र जनस्वास्थ्य प्रयोगशाला कार्यालयलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले जानकारी दिनुभयो । त्यस्तै, विपन्न, गरिब दलित, सीमान्तकृत र गरिबीको रेखामुनि रहेका नागरिकलाई शौचालय निर्माणमा ५० प्रतिशत अनुदान दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्