ललितकला प्रज्ञा प्रतिष्ठानलाई आवश्यक बजेटको व्यवस्था गर्छु : मन्त्री आले



काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानलाई आवश्यक पर्ने बजेटको व्यवस्था गर्ने आश्वासन दिनुभएको छ । प्रतिष्ठानले बिहीबार प्रतिष्ठान परिसरमा आयोजना गरेको चित्रकला प्रदर्शनी कार्यक्रममा बोल्दै मन्त्री आलेले कला, संस्कृतिको जगेर्ना गर्न तथा कलाकारिताको विकासका लागि ललितकला प्रज्ञा–प्रतिष्ठानलाई आवश्यक पर्ने बटेजको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘देश चिनाउने भनेकै कलाकारिताले हो । कला, संस्कृतिको जगेर्ना गर्न र विकास गर्न चाहिने जति बजेटको व्यवस्था गर्छु ।’

मन्त्री आलेले कलाकार भनेको देशको गहना भएको र कलाकारहरूको हौसला बढाउनका लागि आफू सधंै अग्रसर तथा प्रतिबद्ध रहने जिकिर गर्दै भन्नुभयो– ‘नेपालको कलाकारिता देश विदेशमा चिनियोस्, त्यसका लागि मैले के गर्नुपर्छ, म सहयोग गर्न तयार छु ।’

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले बजेट अभावमा नेपालका कलाकारले आफ्नो प्रतिभा देखाउन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो– ‘हामीसँग असङ्ख्य कला छ, तर बजेट नभएका कारण ती कलाहरू बाहिर ल्याउन सकिएको छैन, बजेटको व्यवस्था भए हामी हाम्रा कला देश विदेशमा चिनाउन सफल हुन्छौं ।’

प्रर्दशनीमा राखिएका चित्रहरूको अवलोकन गर्दै मन्त्री आलेले चित्रहरू निकै राम्रा तथा उपयोगी भएको भन्दै चित्रकारहरूको प्रशंसासमेत गर्नुभयो । प्रदर्शनीबाट मन्त्री आलेले दुईवटा चित्र किनेर लैजानुभएको थियो । कार्यक्रममा ललितकला प्रज्ञा–प्रतिष्ठानले मन्त्री आलेलाई आफ्नो पुस्तक तथा आफ्नो वार्षिक बजेटका विषयमा जानकारीसहितको किताबसमेत हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्