काठमाडौं ।
भुटानमा गएराति आएको भीषण बाढीले गासा र पुनाखा जिल्लामा ठूलो क्षति पुर्याएको छ । बाढीले सडक, सिँचाइ प्रणाली तथा संरचनामा क्षति पुर्याएपछि हिमताल विस्फोट (ग्लेसियल लेक आउटबर्स्ट फ्लड) भएको आशंका गरिएको छ ।
भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस)का अनुसार बाढीले गासा जिल्लाको छाचु क्षेत्र पूर्ण रूपमा बगाएको छ भने पुनाखा–गासा राजमार्गको जोमलिङथाङ खण्डमा सडक बगाएको छ । सडक अवरुद्ध हुँदा लाया क्षेत्र अन्य भागसँगको सडक सम्पर्कबाट विच्छेद भएको छ ।
बाढीको कारण गासा जिल्लास्थित सिन्ताफु हिमताल विस्फोट भएको हुन सक्ने आशंका गरिएको छ । उक्त ताल भुटानका १७ सम्भावित जोखिमयुक्त हिमतालमध्ये एक हो । यद्यपि, हिमताल विस्फोट भएको आधिकारिक पुष्टि भने भइसकेको छैन ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मी, कर्मचारी, स्थानीय बासिन्दा तथा पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ । पुनाखाको येबिसा क्षेत्रमा बाढीको पानी पुगेपछि सेन्ट्रल स्कुलका आवासीय विद्यार्थीलाई समेत अग्लो स्थानमा स्थानान्तरण गरिएको छ ।
भुटानको राष्ट्रिय जलविज्ञान तथा मौसम विज्ञान केन्द्रले मो छू नदीको जलस्तर निगरानी गरिरहेको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै तल्लो तटीय क्षेत्रमा साइरनसमेत सक्रिय पारिएको छ ।
बाढीबाट हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन । रातिको समयमा बाढी आएकाले भौतिक क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी रहेको अधिकारीहरूले जनाएका छन् ।











प्रतिक्रिया