विराटनगर ।
मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन्। प्रहरीले पेस्तोल, एक राउन्ड गोली र करिब ५०० ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।घाइते हुनेमा भारत अररियाका २२ वर्षीय दीपककुमार बोसाक र ४० वर्षीय पुरन बोसाक रहेका छन्। उनीहरूको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार रतुवामाई नगरपालिका–६ शनिश्चरेमा राति करिब ९ः३० बजे दुईवटा मोटरसाइकलमा सवार तीन जनालाई रोक्न खोज्दा उनीहरू भाग्न खोजेका थिए। त्यसपछि प्रहरीले चाइनिज पेस्तोलबाट पाँच र ब्रेडा पेस्तोलबाट तीन गरी आठ राउन्ड गोली चलाएको थियो।घटनामा संलग्न रहेको आरोपमा रतुवामाई–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर पनि पक्राउ परेका छन्।
प्रहरीले उनीहरूको साथबाट एक थान घरेलु पेस्तोल, एक राउन्ड गोली, करिब आधा किलो खैरो हेरोइन र मोटरसाइकल बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिएका छन्।











प्रतिक्रिया