काठमाडौँँ ।
काठमाडौँ महानगरपालिकाले तिहारमा प्लाष्टिक र आयातित फूल पूर्ण निषेध गर्ने भएको छ । कामपा प्रहरी बल प्रमुख विष्ण्ॉप्रसाद जोशीले प्याष्टिक र आयातित फूल बिक्री वितरणमा पूर्ण निषेधित गर्ने जानकारी दिनुभयो । उहाँले तिहारको समयमा प्लाष्टिक र आयातित फूल बिक्री वितरण गरेको जानकारी पाए तत्काल जफत गरिने जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले चारै क्षेत्रमा रहेको प्रहरीबलको कार्यालयबाट अनुगमन गर्नेछाँै, यदि अनधिकृत रूपमा बिक्री गर्न ल्याएको फूल फेला पारेमा तत्काल जफत गरी कारबाही गर्नेछौँ ।’
कामपाका अनुसार राजधानीमा नेपालमै उत्पादित फूलको बजार बिस्तार गर्न र बजार प्रबद्र्धन गर्न प्लाष्टिक र आयातित फूल पूर्ण निषेधित गर्न लागिएको हो। कामपाले एक दुई दिनमा सार्वजनिक सूचना जारी गरी अनुगमन गर्ने भएको छ ।
यसैबीच यो वर्षको तिहारमा करिब ५१ लाख ८० हजारवटा फूलका माला र ४३ लाख थान पोली तथा गमला गरी कुल ९४ लाख ८० हजार थान पुष्प सामग्रीको कारोबार हुने अनुमान गरिएको छ । फ्लोकिल्चर एसोसिसयन नेपाल(फ्यान)ले दिएको जानकारीअनुसार उक्त माला र फूल व्यापार गरेपावत ६४ करोड ५० लाख रुपैयाँबराबरको कारोबार हुने अनुमान गरिएको छ ।
फ्यानले हालै देशभर सर्वेक्षण गरेको थियो । सर्वेक्षणअनुसार मखमली फूलको उत्पादनमा नेपाल हाल पूर्णरूपमा आत्मनिर्भर भइसकेको छ । एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले व्यावसायिक खेतीको विस्तारसँगै नेपाल फूल उत्पादनमा क्रमश: आत्मनिर्भरतातर्फ अघि बढिरहेको जानकारी दिँदै भन्नुभयो–‘हामी सयपत्री र मखमली फूलमा लगभग आत्मनिर्भर भैसकेका छौँ, आयातित फूलको प्रयोग नगरौँ ।’ यो विषयमा फ्यानले सरकारको ध्यानाकर्षण गराउने तयारी गरेको छ ।
यस वर्ष तिहारका लागि ६ लाख मखमली मालाको बजार माग रहेकामा स्वदेशी उत्पादनले शतप्रतिशत धान्न सक्ने फ्यानको भनाइ छ । स्वदेशी उत्पादनमध्ये करिब चारलाख माला आन्तरिक बजारमा खपत हुनेछ भने बाँकी दुई लाख माला विदेश निर्यात हुने अनुमान छ । औसत थोक मूल्य ४५ रुपैयाँ प्रतिमालाका दरले मखमलीबाट दुई करोड ७० लाख रुपैयाँबराबरको कारोबार हुनेछ ।
यसवर्ष तिहारमा ४५ लाख सयपत्री मालाको माग रहने अनुमान छ । औसत थोक मूल्य ९० रुपैयाँ प्रतिमालाका दरले सयपत्री मालाबाट ४० करोड ५० लाख रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ ।
तथ्याङ्कअनुसार देशका ५४ जिल्लामा पुष्पखेती हुँदै आएको छ । हाल ३२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको यस व्यवसायमा एक हजार ४४५ भन्दा बढी व्यवसायी संलग्न छन् । पुष्प व्यवसायमा ११ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी रहेको अनुमान छ भने प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ६२ हजार ५०० भन्दा बढीले रोजगारी पाएका छन् ।
एसोसिएसनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा पुष्प व्यवसायको वार्षिक कारोबार तीन अर्ब ३७ करोड रुपैयाँ रहेको थियो । चालुआर्थिक वर्ष २०८२/८३ मा कारोबार १६.९१ प्रतिशतले बढेर तीन अर्ब ९४ करोड रुपैयाँभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।
विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा पुष्प तथा पुष्पजन्य वस्तुको आयात अघिल्लो वर्षको तुलनामा १०५.६६ प्रतिशतले बढेको छ भने निर्यात ४५.७९ प्रतिशतले घटेको छ । फूलका बीउबिजन, मदर प्लान्ट, जीवित बिरुवा र कट फ्लावरमा विदेशी निर्भरता कायमै रहेको व्यवसायीहरूको भनाइ छ ।











प्रतिक्रिया