कोरोना नियन्त्रणका लागि स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण



काठमाडौं ।

नेपाली कांग्रेसले कोरोना सक्रमणको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ दुई/तीन हप्तामै उच्च विन्दुमा फैलनसक्ने खतराप्रति बेलैमा सचेत भई नियन्त्रणका लागि आवश्यक उपायहरू तत्काल अघि बढाउन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई ज्ञापनपत्र बुझाएको छ ।

कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुषालले बिहीबार स्वास्थ्यमन्त्री खतिवडालाई ज्ञापन पत्र बुझाउँदै कोरोना संक्रपण परीक्षणको दायरा बढाई कोरोना नियन्त्रणका लागि तत्काल पहल गर्न, उच्च जोखिममा रहेका जेष्ठ नागरिक एवं दीर्घ रोगी र बालकालिकालाई उच्च प्राथमिकता राखेर कार्य अघि बढाउन आग्रह गर्नुभएको छ । नेपालमा तत्काल सबै नागरिकसामु कोरोनाविरुद्धको खोप एवं खोपको बुस्टर मात्रा पुर्याउनुपर्ने दायित्व र प्राथमिकता नेपाल सरकारको भएको हुँदा पर्याप्त खोप/बुस्टर मात्रामा सर्वसाधरणको सहज र सरल पहुँच पुर्याउन सम्बन्धित सबै संयन्त्रलाई परिचालन गर्नका लागि निर्देशन दिन र नयाँ भेरियन्टका कारण बढ्न सक्ने संक्रमितको चापलाई मध्यनजर राख्दै देशभरका स्वास्थ्य केन्द्र, अस्पतालहरूमा पर्याप्त तयारीका लागि सरकारबाट सक्दो सहयोग प्रदान गर्न ज्ञापनपत्रमा स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गरिएको छ ।

स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी एवं कोरोना रोकथामका लागि खटिरहेका ‘फ्रन्टलाइनर’ लाई प्रोत्साहनस्वरूप कोरोना सुविधा तथा राहत प्रदान गर्दै सर्वसाधारणलाई समेत कोरोना बिमाको व्यवस्था गर्न पनि ज्ञापनपत्रमा स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराइएको छ । ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री खतिवडाले कांग्रेस संसदीय दलका सचेतक भुषालले उठान गरेको विषयहरू अत्यन्त संवेदनशील भएकोले तत्काल सम्बोधन हुने आश्वासन दिनुभयो ।

नयाँ भेरियन्ट फैलन नदिन सीमामा हेल्थ डेक्स, होल्डिङ सेन्टर र आइसोलेसन सेन्टरको समयमा व्यवस्थापन गर्न केन्द्र, प्रदेश र स्थानीय तहहरूसँग समन्वय गर्नुपर्ने तथा कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारको तर्फबाट तुरुन्त योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा ज्ञापनपत्रमा जोड दिइएको छ । कोरोना भाइरसलाई फैलन नदिन तथा आफू र अरूको जीवन रक्षाका लागि जनचेतना कार्यक्रम गरी न्यूनतम मापदण्ड पालना गर्न/गराउन, कडाईका साथ पहल गर्नुपर्ने पनि ज्ञापनपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्