वीरगन्ज महानगरमा विद्यालय धमाधम सञ्चालनमा



कृष्णउदास खनाल,वीरगन्ज ।

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले मंगलबार देखि माघ १५ गतेसम्म देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय गरे पनि  वीरगन्ज महानगरपालिकाका विद्यालयहरू  सञ्चालनमा नै रहेका छन् ।

वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सोमबार साँझ नै एक सूचना जारी गर्दै महानगरका विद्यालयहरू बन्द नहुने जानकारी गराएको हो । सरकारले देशभरका विद्यालयहरू आज देखि माघ १५ गते सम्म बन्द गर्ने निर्णय गरेको भए पनि वीरगन्जमा अहिले सम्म कोरोना सङ्क्रमणको स्थिति नियन्त्रणमै रहेकाले विद्यालय सञ्चालनमा कुनै समस्या नभएकाले महानगरका विद्यालयहरू मंगलबार देखि नियमित रूपमै सञ्चालनमा रहेको महानगर प्रमुख विजय कुमार सरावगीले बताउनुभयो ।

तर,  चिकित्कसहरुले भने विद्यालय बन्द गर्न बारेमा एक पटक फेरि सोची दिन वीरगन्ज महानगर पालिकासँग आग्रह गरेका छन् । वीरगन्जमै पनि कोभिड संक्रमण समुदायस्तरमै फैलिसकेकाले विद्यालयहरू  सञ्चालनमा रहँदा बालबालिकाहरू उच्च जोखिममा रहेको भन्दै चिकित्सकहरूले हाललाई विद्यालय बन्द गर्नु नै उचित रहेको बताएका छन् ।

वीरगन्जको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले अहिले विद्यालय बन्द नगर्ने हो र भोलिका दिनमा बालबालिकाहरू संक्रमित हुँदा पछुताउनु बाहेक अरू कुनै विकल्प नहुने बताउनुभयो । यद्यपि नेपाल शिक्षक महासङ्घ पर्साले भने विज्ञप्ति जारी गर्दै पर्साका विद्यालय बन्द गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्