इल्चेसँग स्पान्योल पराजित



मेड्रिड, (एजेन्सी) ।

स्पेनिस ला लिगाको मध्यम टोली स्पान्योललाई रेलिगेसन जोगाउन प्रयासरत इल्चेसँग पराजित भएको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा स्पान्योल इल्चेसँग २–१ गोलले पराजित भएको हो । इल्चेको जितमा दुवै गोल पेरे मिल्लाले गरे । स्पान्योलका राउल डे टोमसले सान्त्वना गोल फर्काएका थिए । सबै गोल पहिलो हाफमा सम्भव भएको खेलमा इल्चेले छैटौं मिनेटमा खाता खोलेको थियो । पेरे मिल्लाले टेले मोरेन्टेको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाए । पेरेले १४औं मिनेटमा जोहन मोजिकाको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै इल्चेको अग्रता दोब्बर बनाए ।

इल्चेको लगातार गोलपछि जोसिएको स्पान्योलले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल फर्काएको थियो । डिबक्सभित्र इल्चेका गोन्जालो भर्डुले फल खेलेपछि प्राप्त पेनाल्टीलार्ई राउल डे टोमसले सदुपयोग गरे । ५३ प्रतिशत बल पोसेसन राखेको इल्चेले दोस्रो हाफमा रक्षात्मक खेल खेलेको थियो । स्पान्योलले दोस्रो हाफमा राम्रा अवसर बनाए पनि गोल गर्न नसक्दा हार खेप्यो । इल्चेका पेरे मिल्ला ‘म्यान अफ दि म्याच’ भए ।

जितसँगै इल्चेले रेलिगेसन रेखा छलेको छ । इल्चेको २० खेलबाट १९ अंक भएको छ । समान खेलबाट स्पान्योलले २६ अंक बनाएको छ । अंक तालिकाको शीर्षस्थानमा रहेको रियल मेड्रिडको भने २१ खेलबाट ४९ अंक छ ।

प्रतिक्रिया दिनुहोस्