पर्वतका ग्रामीण सडकमा धमाधम पुल बन्दै



पर्वत ।

वर्षा याममा ६ महिना बाढीका कारण अवरुद्ध हुने ग्रामीण सडकहरूमा अब यात्रा सहज हुने भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास तथा सडक डिभिजन कार्यालय, पर्वतले मुख्य ग्रामीण सडकमा पर्ने सबैजसो खोलामा पक्की पुल निर्माण गरेसँगै अब बाह्रै महिना सवारीसाधन सञ्चालन गर्न सकिने भएको हो ।

जिल्लाका ७ स्थानीय तह जोड्ने मुख्य सडकमा पर्ने खोलामा एक दर्जन पक्की पुल निर्माण भइसकेका छन् । पूर्वाधार कार्यालयका अनुसार हालसम्म फलेबास नगरपालिकाको अर्चले–भंगरा जोड्ने पुल, मोदी गाउँपालिकाको रति खोला र अम्बोट खोला, महशिला र पैयुँ गाउँपालिकामा पर्ने सेरा खोला, गेडी खोला र सेती खोलामा पनि पुल बनिसकेका छन् ।

कार्यालयका सूचना अधिकारी लीलाधर गौतमका अनुसार मोदी–१ र कास्कीको अन्नपूर्ण–९ जोड्ने भुरुङ्दी खोलामा पनि पुल निर्माण भइसकेको छ । कास्कीको नयाँ पुल हुँदै म्याग्दीको घोडे पानी पुग्ने सडकमा पुल निर्माण भएपछि पर्यटकको यात्रामा सहज भएको छ । कार्यालयले चालु वर्षमा पैयुँ–७ को सेरा खोला, पैयुँ–४ को गेडी खोला, मर्दी खोला र सिब्दी खोलामा पुल बनाइसकेको छ । मर्दी र सिब्दी खोलामा पुल सञ्चालनमा आइसकेको गौतमले बताउनुभयो ।

विगतमा जेठको अन्तिम सातादेखि मङ्सिर सम्म अवरुद्ध हुने ग्रामीण सडक आउँदो वर्षदेखि बाह्रै महिना सञ्चालनमा आउने स्थानीयवासीको अपेक्षा छ । फलेबास–८ को चिसापानी दुग्ध उत्पादक सहकारी संस्थाकी सचिव शोभा क्षेत्रीले पुल बनेर सडक सहज भएपछि अहिले सहकारीले दैनिक हजारदेखि १५ सय लिटर दूध पोखरा पठाउने गरेको बताइन् । स्थानीय तहका प्रमुखहरूले समेत अब उर्लिएको खोलाकै कारण सवारीसाधन रोकिनुपर्ने बाध्यताको लगभग अन्त्य भएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्