बलेटक्सार बजारमा लिफ्टिङमार्फत खानेपानी



गुल्मी ।

गुल्मी जिल्लाको रूरूक्षेत्र गाउँपालिका–४ मा रहेको बलेटक्सार बजारमा लिफ्टिङमार्फत खानेपानी पुगेको छ । बजारवासीले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए ।

खानेपानी आयोजनाको गुल्मी क्षेन नम्बर–१ सांसद प्रदीपकुमार ज्ञवालीले उद्घाटन गर्नुभएको थियो । २०७० सालमा शुरु भएको खानेपानी आयोजना २०७८ सालमा सम्पन्न भएको हो । आयोजना (गाउँपालिकाको बजेट बाहेक) ३ करोड ३० लाख ३७ हजार ४ सय ३९ रुपियाँमा बलेटक्सार बजार लिफ्ट खानेपानी तथा सरसफाइ आयोजनाले काम सम्पन्न गरेको हो ।

नेपाल सरकारको २ करोड ७१ लाख ४ हजार ५ रुपियाँ र जनसहभागिताबाट ५९ लाख ३३ हजार ४ सय ३४ रुपियाँ गरी आयोजना सम्पन्न गरिएको जिल्ला खानेपानी डिभिजन कार्यालय गुल्मीका प्रमुख अनुज उपाध्ययले बताउनुभयो । मस्यारी बिरौटा दोमइ स्रोतबाट पानीलाई सेडिमेन्ट गरी फिल्टर गरिएको र त्यसलाई १ लाख लिटर क्षमताको २ वटा ट्यांकीमा जम्मा गरिएको उहाँको भनाइ छ ।

यस क्षेत्रमा पानीको चरम समस्या अब भने समाधान भएकाले नागरिकहरुमा खुसीयाली छाएको आयोजनाका अध्यक्ष देवनारायण ज्ञवालीले बताउनुभयो । आयोजनाको दिगोपना उपभोक्ता समितिको कार्यशैलीमा भर पर्ने उहाँको भनाइ थियो । आयोजना क्षेत्रका ३ सय ५९ घर धुरिहरुको करिब १ हजार ७ सय ९५ जनसंख्यालाई पानी वितरण गरिएको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मी, रूरूक्षेत्र गाउँपालिका र स्थानीय उपभोक्ताहरुको सहभागिता खानेपानीको उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्