दिसाजन्य लेदो व्यवस्थापन प्लान्ट सञ्चालनमा



स्याङ्जा ।

जिल्लाको वालिङ नगरपालिकाले निर्माण गरेको दिसाजन्य लेदो व्यवस्थापन प्लान्ट सञ्चालनमा आएको छ । दिसाजन्य लेदो व्यवस्थापन शहरी क्षेत्रहरुमा चुनौतीका रूपमा देखा परिरहेका बेला वालिङमा त्यसको व्यवस्थापनका लागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याएको हो ।

घर–घरमा रहेका सेफ्टी ट्याङ्की भरिएपछि बाहिरी खुला ठाउँमा लगेर आफूखुसी फाल्ने गरेका कारण ढल, खोलानाला तथा पानीका स्रोतहरु प्रदूषित भएकाले उचित व्यवस्थापनका लागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याइएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । ‘घरमा रहेका सेफ्टी ट्याङ्की भरिएपछि फाल्नका लागि समस्या थियो!, उहाँले भन्नुभयो– ‘अब नगरपालिकाले सञ्चालनमा ल्याएको प्लान्टमा सस्तो र सहजरूपमा व्यवस्थापन गर्न सकिन्छ ।’ नगरपालिकाले सञ्चालन गरेको प्लान्टबाट बायोग्यास र कम्पोस्ट मल बनाउनुका साथै त्यहाँबाट निस्केको पानीलाई प्रशोधन गरेर पुनः प्रयोग गर्न मिल्ने बनाइएको छ ।

नगरपालिकाले नेपाल नगरपालिका संघसँग समन्वय गर्दै एन्फो संस्थाको प्राविधिक डिजाइन सहयोग, राष्ट्रिय योजना आयोग, संघीय मन्त्रालय, सिटी नेट, एसप्याक, यूएनडीपी, बिलगेट्स एन्ड मेलिन्दा फाउन्डेसनको सहयोगमा एकीकृत फोहोर व्यवस्थापन कार्यक्रमअन्तर्गत प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याएको हो । ‘प्लान्टबाट आधुनिक कम्पोस्ट मल बनाउने, बायोग्यास निकाल्ने र पानीलाई प्रशोधन गरी पुनः प्रयोग गर्न सकिने बनाउँछौं’, उहाँले भन्नुभयो– ‘सञ्चालनमा आएको यो प्लान्ट एकीकृत फोहोरमैला व्यवस्थापनका क्षेत्रमा नगरपालिकास्तरमा नेपालकै पहिलो हो ।’

दिसापिसाबको व्यवस्थित संकलनदेखि सुरक्षित विसर्जनसम्मको चरणबद्ध प्रक्रिया सरसफाइ प्रणाली हो । यो प्रणालीअन्तर्गत संकलन, भण्डारण, रित्याउने र ढुवानी गर्ने, प्रशोधन र पुनः प्रयोग वा सुरक्षित विसर्जन रहेका वालिङ नगरपालिकाका इन्जिनियर दीपेन्द्र मल्लले बताउनुभयो । नगरपालिकालाई ६ हजार ५ सय शुल्क तिरेपछि ट्याङ्की खाली गरिदिने गरेको उहाँले बताउनुभयो । घर–घरमा निर्माण भएका सेफ्टी ट्याङ्की खाल्डो भरिएपछि खाली जमिन, खेतबारी, जङ्गलमा ट्याङ्करमार्फत विसर्जन गरिँदै आएकोमा प्लान्ट सञ्चालनमा आएसँगै थप व्यवस्थित भएको इन्जिनियर मल्ल बताउनुहुन्छ ।

घर–घरमा रहेका सेफ्टी ट्याङ्की भरिएपछि व्यवस्थापनमा निक्कै समस्या हुने गरेकोमा नगरपालिकाले उठाएर त्यसको उचित व्यवस्थापन गर्ने भएपछि सहज भएको वालिङ–८ कटौंजेका शिवप्रसाद पाण्डेले बताउनुभयो । ‘निजी ब्यवसायीबाट यसअघि ट्याङ्की खाली गर्न पर्दा महँगो र मनपरी दररेट थियो’, उहाँले भन्नुभयो– ‘एकलौटी व्यवसाय हुँदा महँगो पर्न गए पनि अब नगरपालिकाले सञ्चालन गरेपछि सस्तो र सहज हुने भएको छ ।’

नगरपालिकाले फोहोरमैंला व्यवस्थापनका क्षेत्रमा देशभरमै उत्कृष्ट स्थान प्राप्त गरी पुरस्कृत भएसँगै वालिङमा बाहिरी जिल्ला, नगरपालिका तथा विभिन्न संघ–संस्थाबाट अध्ययन अवलोकन भ्रमणका लागि आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्