विद्यार्थीलाई स्विटर र टोपी, वृद्धाश्रम–अनाथालयलाई खाद्यसामग्री



इलाम ।

इलाम सदरमुकाममा रहेको राधा माधव समितिले विद्यार्थीलाई जाडोको कपडा वितरण गर्न थालेको छ । इलाम नगरपालिकाका विभिन्न आधारभूत विद्यालयका विद्यार्थीका लागि एक–एक थान स्विटर र टोपी वितरण गर्न थालिएको हो ।

समितिले इलाम नगरपालिका–८ तिल्केनीको विद्यादेवी आधारभूत विद्यालयका ३९ जना र वडा नम्बर ६ को सत्यनारायण आधारभूत विद्यालयका २७ जना विद्यार्थी बालबालिकालाई स्विटर र टोपी वितरण गरिसकेको छ । त्यस्तै, वडा नम्बर ८ को देवकोटा आधारभूत विद्यालयका ६० जना र सोही वडाकै महेन्द्रोदय आधारभूत विद्यालयका २५ जना विद्यार्थीलाई पनि वितरण गर्ने तयारीमा रहेको समाजका व्यवस्थापक ईश्वरकुमार सुवेदीले बताउनुभयो । करिब ७० हजार रुपियाँ बराबरबाट जाडोको कपडा वितरण गरिने उहाँको भनाइ छ ।
समितिले सत्संगमा आउने सत्संगीहरुले स्वेच्छिकरूपले दिएको सहयोग संकलन गरेर कपडा खरिद गरेको सुवेदी बताउनुहुन्छ । समितिले समय–समयमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । केही महिनाअघि आएको बाढी–पहिरोबाट पीडित बनेका सूर्योदय नगरपालिकास्थित पशुपतिनगरका पीडितहरुलाई पनि समितिले खाद्यान्न सहयोग गरेको थियो । माईभगवती वृद्धाश्रम, राहासल बाल अनाथालय लगायत लाई पनि यस संस्थाले सहयोग गर्दै आएको छ । इलाममा राधा माधव समिति २०६७ सालमा स्थापना भएको थियो ।
त्यस्तै, इलाम–झापामैत्री समाज बिर्तामोड नगर समितिले इलामको माईभगवती वृद्धाश्रम र राहसल बाल अनाथालयमा खाद्यान्न सहयोग गरेको छ । समाजले युनिभर्सल पिस फेडेरेसनसँगको सहकार्यमा खाद्यान्न वितरण गरेको हो ।

समाजले इलाम नगरपालिका १० गोदक राजदुवादीस्थित माइभगवती वृद्धाश्रम इलाम नगरपालिका ९ मा रहेको बाल अनाथालयलाई १ सय २५ किलोको दरले चामल र ५० किलोको दरले पीठो उपलब्ध गराएको समाजकी अध्यक्ष तिलोत्तमा खत्रीले जानकारी दिनुभयो । यस्तै, खाने तेल, चना, नुन ५–५ किलो र नुहाउने साबुन २० वटाको दरले उपलब्ध गराएको छ । अनाथालयमा आश्रित बालबालिकाका लागि समाजले १५ जोर जुत्तासमेत दिएको छ ।

इलाममा जन्मिएर झापाको बिर्तामोडलाई कर्मथलो बनाएका व्यक्तिहरुको अग्रसरतामा इलाम–झापामैत्री समाज स्थापित भएको हो । सो क्रममा स्थानीय यादव अधिकारीले अनाथालयमा हुर्किएर वयश्क भएकाहरुको रोजगारीका लागि समाजले पुलको भूमिका निर्वाह गरिदिन अनुरोध गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्