‘होल बडी’ स्वास्थ्य परीक्षणबाट ५१ लाभान्वित



तनहुँ ।

व्यास नगरपालिका–१ भादगाउँमा गरिएको दुईदिने ‘होल बडी’ स्वास्थ्य परीक्षणबाट ५१ जना लाभान्ति भएका छन् । भादगाउँ दरै समाजको आयोजना तथा मेडी ट्रस प्याथोलोजी पोखराको सहयोगमा सहुलियतरूपमा सःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम भएको हो ।

मानिसको शरीरमा लाग्न सक्ने विभिन्न रोगको पहिरचानका लागि स्थानीयवासीलाई ‘होलबडी’ स्वास्थ्य परीक्षण गर्नतर्फ प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम गरिएको समाजले जनाएको छ । स्वास्थ्य परीक्षणका क्रममा यहाँका स्थानीयवासीमा टीजी (बोसोको मात्रा) बढी भएको पाइएको रिजनल अस्पतालका एमडीजीबी डाक्टर पविन बरालले बताउनुभयो ।

उहाँका अनुसार बोसोयुक्त खानेकुरा, अल्कोहल जस्ता पदार्थको सेवनमा न्यूनीकरण गर्नुपर्ने देखिएको छ । ‘यहाँका स्थानीयवासीको संकृतिका कारण पनि बोसोको मात्रा बढी देखिएको हो’, डा. बरालले भन्नुभयो– ‘सचेत भएमा डराउनुपर्ने अवस्था भने छैन ।’ परीक्षण गरिएका रगत तथा पिसाबको रिर्पोटअनुसार बोसोको मात्रा बढी भएको पाइएको हो ।

मुधमेह रोग, कलोजोको परीक्षण, मृगौलाको परीक्षण, रगतमा बोसोको मात्रा परीक्षण, पिसाबको तथा थाइराइडको परीक्षण गर्न स्थानीयवासीलाई सहज बनाउने उद्देश्यले शिविर सञ्चालन गरिएको भादगाउँ दरै समाजका अध्यक्ष चिजबहादुर दरैले बताउनुभयो । ‘आम नागरिकलाई होल बडी टेस्टको समय समयमा गर्नुपर्छ भन्ने कुराको जानकारी गराउन आवश्यक छ, आफूमा भएको स्वास्थ्य समस्या समयमा पहिचान भएमा उपचारको दायरामा पुग्न सहज हुन्छ, यसले गर्दा पनि स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको हो ।’ –उहाँले भन्नुभयो ।

व्यास नगरपालिकाका ५१ जनाको स्याम्पल टेस्टका लागि रगत तथा पिसाब संकलन गरिएको कार्यक्रमको समन्वयकर्ता शुभेच्छा तामाङले जानकारी दिनुभयो । यो शिविरबाट थाइराइडका बिरामीको सर्वेक्षणमा टेवा पुगेको चिकित्सकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्