एमाले बैतडीको अधिवेशनमा सहमति जुट्न सकेन

निर्वाचन कार्यतालिका सार्वजनिक



बैतडी, (नेस) ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को बैतडी जिल्ला अधिवेशन पाटनमा दुई दिनदेखि जारी रहेको छ । शुक्रबार उद्घाटन गरिएको आठौं जिल्ला अधिवेशनपश्चात बन्दसत्र पनि सकिएको छ ।
बन्दसत्रबाट नयाँ नेतृत्व चयनको प्रयास गरिए पनि सहमति जुट्न नसेकेको बताइएको छ । सहमति जुट्न नसक्दा निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
निर्वाचन तालिकाअनुसार दिउँसो १ बजे मतदाता नामावली प्रकाशन र त्यपश्चात अन्य निर्वाचन प्रक्रिया र बेलुका ५ बजेदेखि मतदान हुने भनिएको छ । मतदाता नामावली प्रकाशन गरिएको भए पनि अन्य प्रक्रिया केही ढिला भएको प्रमुख निर्वाचन अधिकृत नरेश विश्वकर्माले जानकारी दिनुभयो । विद्युत् सेवा अवरुद्ध भए पनि अन्य निर्वाचन प्रक्रिया ढिला हुन पुगेको हो ।

जिल्ला अध्यक्षमा वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द आकांक्षी रहनुभएको छ । यता, एमाले बैतडीका सहइञ्चार्ज लीलाधर भट्टले निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका सार्वजनिक गरे पनि अझै पनि सहमतिको अन्तिम प्रयास जारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सहमतिको अन्तिम प्रयास अझै जारी रहेको छ, सकेसम्म सर्वसम्मत ढंगले नेतृत्व चयन गर्छौं । नभए निर्वाचनमा जान्छौं ।’ अधिवेशनका लागि ५ सय ३५ जना प्रतिनिधि छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्