आविष्कार केन्द्रमा इजरायली दूतावासको उच्च प्रविधियुक्त कक्ष



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयभित्र रहेको महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा इजरायली दूताबासले उच्च प्रविधियुक्त कक्षको स्थापना गरेको छ । नेपालका लागि इजरायली राजदूत खनान गोडेर गोल्डबर्गर र दूताबासका उपप्रमुख ताल स्वार्चम्यानले बिहीबार उक्त अनुसन्धान तथा विकास केन्द्र र उच्च प्रविधियुक्त कक्षाको संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । राजदूत गोडरले हाम्रो जीवनस्तरलाई माथि उकास्न विज्ञानप्रविधिको निरन्तर अनुसन्धान र विकासले मात्र सम्भव हुनेमा जोड दिंदै नेपालमा पनि इजरायली उच्च प्रविधियुक्त अनुसन्धान तथा विकास कक्ष स्थापनामा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

दूताबासका उपप्रमुख स्वार्चम्यानले यो केन्द्रको स्थापनाले नयाँनयाँ खोज तथा आविष्कारबाट राष्ट्र विकासमा योगदान पुर्याउने नेपाली अनुसन्धानकर्ताको आकांक्षालाई लागि केही सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । केन्द्रका अध्यक्ष पुनले उच्च प्रविधियुक्त कक्षमा गुणस्तरीय शिक्षालाई ध्यानमा राखेर विभिन्न प्रविधिहरूको प्रयोग गरेर नमूना कक्षाकोठाको रूपमा विकास गरिने जानकारी दिनुभयो । उहाँले पढ्ने र पढाउने शैलीमा नयाँ अनुसन्धान तथा विषय वस्तुहरूको परीक्षण गर्न यो कक्षले सहयोग गर्ने विश्वास व्यक्त गर्दै भन्नुभयो– ‘यहाँ बजारमा उपलब्ध हुने विभिन्न प्रविधिहरू ल्याएर पठनपाठनको लागि परीक्षण गर्न र पढाउनका लागि चाहिने शैक्षिक विषयवस्तुहरूको विकास गर्न र शिक्षण र सिकाइको व्यवस्थापन गर्ने प्रणालीको अनुसन्धान र विकास गरिनेछ ।’

उद्घाटनको क्रममा इजरायलको बेन गुरुन विश्वविद्यालयस्थित आविष्कार केन्द्र याजमत ३६० एन्टरप्रेनरसिप सेन्टरसँग भच्र्युयल बैठक पनि राखिएको थियो । इजरायली दूताबासले स्थापना गरेको कक्षमा ल्यापटप, वेबक्याम, डिजिटल डिस्प्ले स्क्रिन, इन–ब्युल्ट साउन्ड सिस्टम, एअर कन्डिसनिङ, फर्निचरका साथै अध्ययन अनुसन्धानका लागि आवश्यक सामग्रीहरू राखिएका छन् । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले वैज्ञानिक तथा डिजिटल अध्ययन अनुसन्धान गर्न चाहने सबैको लागि उच्च प्रविधियुक्त यो कक्ष खुला रहने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्