‘शक्ति’ प्रदर्शन गर्दै काभ्रे एमाले



काभ्रे ।

काभ्रे जिल्लाको र मुलुककै ठूलो दल नेकपा एमाले काभ्रेले आज शुक्रबार धुलिखेल सदरमुकामस्थित खेलकुद मैदान रंगशालामा शक्ति प्रदर्शन गर्दै छ । अधिवेशनको तयारीका बारेमा एमाले काभ्रेले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

जिल्लाका १३ वटै पालिका र १ सय ३५ वटै वडाका अलावा राजधानीमा बसोबास गरिरहेका एमालेका शुभचिन्तक, कार्यकर्ता र नेताहरुको सहभागिता रहने अधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता रहने आयोजक समितिले जनाएको छ । अधिवेशनले सशक्त नेतृत्वसँगै जिल्लाको विकास निर्माणको २० वर्षे खाका तयार गर्नेछ । छैटौ जिल्ला अधिवेशनले तय गरेको जिल्लाको खाका अनुसार अहिले काभ्रेमा विकास निर्माण भइरहेको छ ।

‘सत्तामा हुँदा आफूले तय गरेको खाका कार्यान्वयन गर्ने र सत्ता बाहिर रहँदा सरकारलाई खाका कार्यान्वयन गर्न दबाब दिने गरेका छौं’, एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले भन्नुभयो– ‘छैटौं जिल्ला अधिवेशनले तय गरेका एजेन्डा अहिले कार्यान्वयन भइरहेको छ ।’ पूर्वमन्त्री गोकुल बाँस्कोटाको नेतृत्वमा भएको अधिवेशनले जिल्लामै पहिलोपटक पार्टीको अधिवेशनमा जिल्लाको समग्र विकास र समृद्धिको खाका तय गरेको थियो ।

धुलिखेलबाट देशैभरको अधिवेशनको उद्घाटन अध्यक्ष ओलीले अनलाइनमार्फत एकैपटक गर्नुहुनेछ । उक्त अधिवेशनमा झण्डै ३० हजार सहभागी गराउने अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिनुभयो । त्यसका लागि आवश्यक तयारी भइरहेको उहाँको कथन छ । जनपरिचालन र सहभागिताका लागि १ सय ३५ वटै वडा कमिटि, १३ वटा पालिका र जनवर्गीय संगठनहरु क्रियाशील छन् । एमाले काभ्रेले सहभागीले संस्कृति झल्कने भेषभूषा, बाजागाजासहित अलग–अलग स्थानबाट जुलुस निस्किएर अधिवेशनको उद्घाटन सभामा परिणत हुनेछ एमाले काभ्रेले जनाएको छ । अधिवेशनका अवसरमा धुलिखेलमा रहेका सबै होटलले २५ प्रतिशत छुटको निर्णय गरेका छन् ।

१४ सय प्रतिनिधि
एमाले काभ्रेको अधिवेशनका लागि १४ सय प्रतिनिधि चयन भएका छन् । १ सय ३५ वटै वडा कमिटि, पालिका र विभिन्न जनवर्गीय संगठनबाट निर्विरोध प्रतिनिधि चयन भएका हुन् । योपटकको अधिवेशनमा एमालेले समावेशी ढंगबाट ४० प्रतिशत महिला प्रतिनिधि सहभागी गराएको छ भने उत्पीडित समुदायबाट झण्डै ३ सय प्रतिनिधि सहभागी गराएको छ ।

सहभागी प्रतिनिधिहरुको अनलाइन फाराम भरिएको छ । अनलाइनमा भरिएका फारामबाट कोडिङका आधारमा भोटिङ मेसिनमा मतदान गर्न पाइने व्यवस्था मिलाइएको छ ।

१०५ सदस्यीय जिल्ला कमिटि
नेकपा एमाले काभ्रेमा १ सय ५ सदस्यीय जिल्ला कमिटि निर्वाचित गर्नेछ । जिल्ला अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव दुई जना निर्वाचित गर्नेछ । विद्यानले तोकेको व्यवस्थाअनुसार काभ्रेका पदाधिकारीसहित १ सय ५ जनाको कमिटि निर्वाचित हुनेछ । जसमा महिला, दलित, उत्पीडित, भूगोल र खुला क्षेत्र समावेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस्