डिप्लोमा कोर्सका विद्यार्थीको बिदाइ



लमजुङ ।

लमजुङको बेंसीशहर नगरपालिका–२ भकुण्डेस्थित बगालेगाउँमा रहेको नेपाली सेना कृषि विज्ञान संस्थानले प्रि–डिप्लोमा कोर्सका पहिलो सत्रका विद्यार्थीलाई बिदाइ गरेको छ । नेपाली सेनाको कल्याणकारी योजनाअन्तर्गत सैनिक कल्याणकारी कोषद्वारा स्थापित नेपाली सेना कृषि विज्ञान संस्थानमा एक वर्ष ८ महिना अध्ययन गरेका ४० जना विद्यार्थीलाई बिदाइ गरेको हो ।

विद्यार्थीलाई नेपाली सेना कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी विजय थापाले प्रमाणपत्र र सीटीईभीटी गण्डकी प्रदेश कार्यालयका निर्देशक प्रमोदभक्त आचार्यले प्रमाणपत्र र मार्कसिट हस्तान्तरण गर्नुभएको थियो । विद्यार्थीलाई नेपाली सेना कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी विजय थापाले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । उहाँले विद्यार्थीलाई तालिममा सिकेका सीप र ज्ञान आफ्नो व्यवसायमा लागू गर्न अनुरोध गर्नुभएको थियो । नेपाली सेनाको कल्याणकारी योजनाअनुसार सैनिक र गैरसैनिकका सन्तानलाई आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्यले सीप प्रदान गर्दै आएको आचार्यले बताउनुभयो ।

एक वर्ष आठ महिना अध्ययन गरेका विद्यार्थीमध्ये कृषितर्फ ९६.३९ प्रतिशत अंक ल्याएर काभ्रे, बनेपाका दिनेशकुमार दाहाल प्रथम र पशुपालनतर्फमा ९३.४ प्रतिशत अंक ल्याएर काभ्रेका मने तामाङ प्रथम भएका छन् । तालिममा विद्यार्थीले धेरैमा ९६.३९ प्रतिशत र कममा ८९.२८ प्रतिशत अंक ल्याएका छन् । यसै गरी, कृषि र पशुपालनतर्फ ४० जना विद्यार्थी सहभागी भएको केन्द्रका सहायक प्राचार्य विनोद घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार विद्यार्थीलाई एक वर्ष सैद्धान्तिक अध्ययन गराइएको थियो । यसमा केन्द्रभित्र २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक थियो । तालिमको अन्य समय जिल्ला बाहिर लगेर प्रयोगात्मक अभ्यास गराइएको उहाँले बताउनुभयो ।

लमजुङमा नेपाली सेना कृषि विज्ञान संस्थानले सीटीईभीटीको समन्वयमा प्रि–डिप्लोमा बाली विज्ञान तथा पशुपालन संकायमा दक्ष जनशक्ति उत्पादन गरी कृषि उपजमा आत्मनिर्भर बनाउने उद्देश्यले तालिम गर्दै आएको छ । केन्द्रबाट सैनिक र गैरसैनिक परिवारका सन्तानलाई स्नातक तहको बीएससी एजी कार्यक्रम सञ्चालन यसै वर्षबाट गर्ने संस्थाले जनाएको छ । त्रिभुवन युनिभर्सिटी र डिनमा समन्वयको काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

सीटीईभीटीले १ हजार १ सय संस्थालाई सीपमूलक शिक्षाका लागि स्वीकृति दिइसकेको सीटीईभीटी गण्डकी प्रदेश कार्यालयका निर्देशक प्रमोदभक्त आचार्यले बताउनुभयो । उक्त केन्द्र ०७६ असार १८ गते सीटीईभीटीबाट सम्बन्धनप्राप्त गरी २०७६ साल भदौ २ गतेबाट सञ्चालनमा आएको हो । केन्द्रले समयसमयमा छोटो अवधिका तीनमहिने, १८ महिने पशुपालन तथा कृषि तालिम सञ्चालन गर्दै आएको छ । प्रशासन तथा शैक्षिक क्षेत्रमा भवन लगायतको पूर्वाधार, छात्रावास, प्रयोगशाला गरेर केन्द्र ३ सय ८६ रोपनी क्षेत्रफलमा फैलिएको छ । कृषि क्षेत्रमा फार्म स्थापना, फलफूल, तरकारी, मसला, नगदेबाली, अन्नबाली, फलफूलको बगैंचा, चिया बगान स्थापना गरिएको गरिएको छ । पशुपालन क्षेत्रमा कुखुराफार्म, गाईफार्म, बाख्राको फार्म, बंगुर फार्म, माछापोखरी स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्