मंगतालाई सेनाको कम्बल



बाँके ।

बाँकेमा एउटा यस्तो गाउँ छ, जहाँका मानिस सबैले मागेर गुजरा चलाउँछन् । यो गाउँ नेपालगन्जदेखि करिब आठ किलोमिटर दक्षिणपूर्वमा पर्छ । डुडुवा गाउँपालिका–६ मा पर्ने यो गाउँको नाम नै ‘मंगताटोल’ हो । सबैले मागेर गुजरा चलाउने भएकाले गाउँको नाम नै मंगताटोल राखिएको छ । यो गाउँका मानिस देशका ठूला हरेक शहरमा माग्न पुग्छन् । नेपालगन्जमा छ्याप्छ्याप्ती भेटिन्छन् । बच्चा बोकेको, मैलो, पुरानो कपडा लगाएका महिला, बालबालिका शहरमा हिँड्डुल गर्ने मानिसको खुट्टा समातेर माग्न पछि पर्दैनन् । सडककिनारामा माग्दै हिँड्छन् । मंगताटोलबाट कतिपय काठमाडौंसम्म माग्न जाने गरेको स्थानीय बताउँछन् ।

काम गर्न सक्ने हट्टाकट्टाले पनि मागेरै गुजरा चलाएको देखिन्छ । गाउँमा सबैका एकै प्रकारका घर छन् । बिहान घरबाट निस्किने र साँझ मागेर फर्किने सबैजसोको दिनचर्या रहेको छ । पुसको चौथो हप्ता चलिरहँदा नेपालगन्जमा शीतलहर र कुहिरोले ढपक्क ढाकेको छ । गर्मीमा ४५ डिग्रीसम्म हुने नेपालगन्जमा अहिले आठ डिग्रीमा तापक्रम झरेको छ । यो चिसोमा नेपाली सेनालगायतले कम्बल दिएर मंगतालाई तताउने प्रयास गरेका छन् । सैनिक श्रीमती संघ, श्री नम्बर ४ बाहिनी अड्डा, भैरवप्रसाद गण, रोयल नेपालगन्ज फुटबल क्लव र वेस्टर्न हस्पिटल तथा रिसर्च सेन्टरले बिहीबार मंगताटोलमा कम्बल तथा खाद्यान्न वितरण गरेका हुन् ।

श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, सैनिक श्रीमती संघको समारोह समितिका सहसंयोजक विमु पाठक, भैरप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की र श्रीमती प्रमिला केसी कार्की, रोयल नेपालगन्ज फुटबल क्लबका अध्यक्ष सूर्यमणि अधिकारी, उनका आमा महालक्ष्मी अधिकारी र श्रीमती प्रतिमा अधिकारी, वेस्टर्न अस्पतालका सञ्चालक डा. कल्पना थापा र छोरा राहुल थापा, श्री नम्बर ४ बाहिनी अड्डाका मेजर दीप श्रेष्ठ र श्रीमती लक्ष्मी श्रेष्ठले मंगताटोलका ७० घर–परिवारलाई एउटा कम्बल, दुई किलो चामल र दुईवटा बिस्कुट वितरण गर्नुभएको थियो ।

सो अवसरमा सहायक रथी पाठकले चिसोले समस्यामा परेका व्यक्तिलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि समस्यामा परेका व्यक्तिलाई सहयोग गर्दै जाने प्रतिबद्धतासमेत गर्नुभउको छ । डुडुवा गाउँपालिका–६ का वडाध्यक्ष मोहन मिश्रले नेपाली सेनालगायतले टोलमै आएर सहयोग गरेकोमा धन्यवाद दिनुभउको थियो ।
भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी कार्कीले सैनिक नागरिक सम्बन्धलाई बलियो बनाउन र समस्यामा नेपाली सेना छ है भन्नका लागि मंगतालाई सानो सहयोग गरेको बताउनुभयो । पछिल्लो समयमा भैरवप्रसाद गणले खेलकुद, धार्मिक कार्यदेखि स्वास्थ्य क्षेत्रमा विभिन्न संघ–संस्था मिलेर काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्