जिल्ला प्रशासन कार्यालय रसुवाद्वारा न्यानो कपडा वितरण 



रसुवा ।
हिमाली जिल्ला रसुवामा  अत्यधिक चिसो बढेपछि त्यसबाट बच्न र बचाउन अति विपन्न परिवारलाई जिल्ला प्रशासन कार्यालय रसुवाले न्यानो कपडा वितरण गरेको छ । बिहीबार विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी नवराज जैसिलगाएतको एक समूह नै जिल्लाको नौ कुण्ड गाउँ पालिका वडा नम्बर १ र २ मा पुगेर  त्यहाँका अति विपन्न ५० परिवारलाई न्यानो कपडा ब्लाङ्केट  वितरण गरिएको हो ।
त्यस्तै जिल्लाका विभिन्न १६ वटा वडाका तीन सय ३० घरपरिवारका अति विपन्न परिवार छनोट गरेर ब्लाङ्केट  वितरण गरिने भएको छ । ६ जनाको परिवारलाई एउटा र त्यो भन्दा बढी परिवार संख्या भए दुई थान ब्लाङ्केट  वितरण गरिने बताइएको छ ।
अत्यधिक चिसो सँगै हिउँ पर्ने सम्भावनालाई मध्यनजर गरी विभिन्न २१ बुँदे कार्य योजनासमेत निर्माण गरी तयारी थालिएको बताइएको छ । जाडोमा आवश्यक पर्ने विश्राम स्थलको  पहिचान गरेर आवश्यक पर्ने काठ दाउराको उचित व्यवस्थापन, खोज तथा उद्धारका सामग्री तथा उद्धारका लागि सुरक्षाकर्मीहरूको व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी जैसिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्