राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा



हेटौंडा ।

राष्ट्रियसभा सदस्यका लागि माघ १२ गते हुने मतदानका लागि रिक्त रहेको वागमती प्रदेशतर्फका २ सिटमा हुने निर्वाचनका लागि ६ उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ ।
मनोनयन दर्ताको कार्यसूचीअनुसार हेटौंडा–५ मा रहेको वागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सत्तारूढ गठबन्धन दलका २ जना, नेपाल मजदुर किसान पार्टीका २ जना र नेकपा एमालेका तर्फबाट २ जना गरी ६ जनाले मनोनयन दर्ता गरेको वागमती प्रदेश निर्वाचन आयोगले जानकारी दिएको छ ।

उम्मेदवारको मनोनयन दर्ता गर्नेमा गठबन्धन दलकातर्फबाट महिलामा नेकपा (एकीकृत समाजवादी) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल हुनुहुन्छ । नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङले मनोनयन दर्ता गर्नुभएको छ । नेमकिपा एक्लै चुनावी मैदानमा उत्रिने भएको छ ।

प्रदेश निर्वाचन कार्यालयमा उहाँहरू उम्मेदवारी दिन १२:३० बजे नेता/कार्यकतासहित पुग्नुभएको थियो । काठमाडौं निवासी पौडेल नेपाली कांग्रेस केन्द्रीय कार्यालय मुख्य सचिव हुनुहुन्छ । हेटौंडाकी तिमल्सिना नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य हुनुहुन्छ ।

आफ्ना उम्मेदवारसहित एमाले नेता काशीनाथ अधिकारी, वागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले नेता डोरमणि पौडेललगायत नेता/कार्यकर्ता प्रदेश निर्वाचन कार्यालय हेटौंडा पुग्नुभएको थियो । उहाँहरू मंगलबार करिब २ बजे उम्मेदवारी दर्ताका लागि आयोग पुग्नुभएको थियो । शाक्य ललितपुर र कुँवर सिन्धुलीका हुनुहुन्छ ।

वागमतीबाट कांग्रेसका राधेश्याम अधिकारी र एकीकृत समाजवादीकी उदय शर्मापौडेलको कार्यकाल सकिँदैछ । गठबन्धनले उहाँहरूको ठाउँमा पौडेल र तिमल्सिनालाई अगाडि सारेको हो । मतदानका लागि प्रदेशसभाका १ सय ९ सदस्य र प्रदेशका १३ जिल्लाका १ सय १९ स्थानीय तहका २ सय ३८ प्रमुख/उपप्रमुख गरी कुल ३ सय ४८ जनाले सहभागिता जनाउनेछन् ।
निर्वाचन कार्यतालिकाअनुसार मनोनयन दर्ता गरेका उम्मेदवारको बुधबार दाबीविरोधको उजुरी दिने कार्यक्रम छ ।

पुस २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम हुनेछ । २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने सोही दिन उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ । माघ १२ गते बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान कार्यक्रम हुनेछ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा रहेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदानस्थल तोकिएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र जनमोर्चा छन् । मनोनयन दर्ताका लागि मंगलबार अपराह्न ३ बजेसम्मको समय तोकिएको थियो । राष्ट्रियसभा निर्वाचनको १९ सिटमा सत्तारूढ गठबन्धनले केन्द्रीयस्तरमा भागबण्डा टुंगो लगाएका थिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको गठबन्धन दलको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनको १९ सिटमा भागबण्डाको टुंगो लगाएको हो ।

कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५/५, जसपाले २ र जनमोर्चाले १ सिट पाएका छन् । नेकपा एमालेको खाली ८ सिटमा भने कांग्रेसले ३, जसपाले २, माओवादी र एसले १/१ सिट लिने सहमति बनेको छ । ४ वर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसद फागुनबाट बिदा हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्