एमाले इलामका ८ सय ६ प्रतिनिधि छनोट



इलाम ।

देशका ७७ वटै जिल्लामा एकैससाथ हुन लागेको नेकपा एमालेको जिल्ला अधिवेशनको तयारी इलाममा अन्तिम चरणमा पुगेको छ । आउँदो पुष २३ र २४ गते एमाले इलामको जिल्ला अधिवेशन हुन लागेको हो । जिल्ला अधिवेशनको तयारीका क्रममा हालसम्म राजनैतिक, आर्थिक र सांगठनिक प्रतिवेदनले पूर्णता पाइसकेको छ भने प्रतिनिधिका लागि खाद्य तथा आवास व्यवस्थापनको तयारी पनि सकिएको नेकपा एमाले जिल्ला कमिटीले जनाएको छ ।

अधिवेशनलाई भव्य र सभ्य बनाउन जिल्लाका दशओटै पालिकाको प्रतिनिधित्व हुने गरी ३५ जना स्वयंसेवक परिचालन छनोट गरेको छ भने सदरमुकामका ४९ वटा होटलहरू बुकिङ भइसकेको पार्टीका जिल्ला अध्यक्ष महेश बस्नेतले जानकारी दिनुभयो । यस्तै अधिवेशनका निम्ति जिल्लाका दशओटै पालिकाबाट प्रतिनिधिको विवरण प्राप्त भइसकेको छ । पार्टीका १५ हजार १ सय ३५ पार्टी सदस्यबाट ८ सय ६ जना प्रतिनिधि छनोट भएका छन् । जसमा खुल्ला पुरुषबाट ३ सय ४९ जना, महिलाबाट २ सय ६५ र दलितबाट १ सय २१ जना छनोट भएका छन् । पार्टीले प्रतिनिधि छनोटमा जिल्लाका ८१ वटै वडाबाट खुल्लाबाट ४५ जना बराबर एकजना, २२ जना महिला बराबर एकजना र ११ जना दलित बराबर एकजनाको दरले प्रतिनिधि छनोट गरेको हो । जसमा सबैभन्दा बढी इलाम नगरपालिकाबाट एकसय २४ जना र सबैभन्दा कम रोङ्ग गाउँपालिकाबाट २० जना प्रतिनिधि छनोट भएको पार्टीका सचिबालय सदस्य धिरेन चेम्जोङले जानकारी दिनुभयो । अधिवेशनबाट एकसय ५ जना निर्वाचित जिल्ला कमिटी चयन हुनेछ भने मनोनीत गर्दासम्म बढीमा जिल्ला कमिटी एकसय ५१ सम्मको बन्ने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

यसैक्रममा अधिवेशनको उद्घाटन सत्रमा एमालेले कम्युनिस्ट आन्दोलनमा विशिष्ठ योगदान पुर्याउँदै पार्टीको हरेक गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ४१ जना जेष्ठ कम्युनिस्ट नेताहरुलाई सम्मान समेत गर्ने भएको छ । यसैक्रममा अधिवेशनमा पार्टीको विभिन्न पदमा उम्मेदवार हुन चाहने उम्मेदवारका लागि मनोनयन दर्ता शुल्क समेत निर्धारण गरेको छ । अध्यक्ष पदका लागि १० हजार, पदाधिकारीमा ५ हजार सदस्य पदका लागि ३ हजार रुपियाँ निर्धारण गरेको हो । यस्तै, अधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिको स्वास्थ्यलाई मध्यनजर गरेर पार्टीले हरेक प्रतिनिधिका लागि (ब्रस, पेस्ट, मास्क, सेनिटाइजर, भिक्स र केही औषधि समावेश गरी प्याकेज बनाइएका) हेल्थ कीट उपलब्ध गराउने भएको अधिवेशन प्रचार प्रसार समितिका संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रमुख आतिथ्यमा हुने एमालेको जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा अधिवेशन प्रचार प्रसारका निम्ति जिल्लाका नौ पालिकामा २२ गते र्याली र साँझ दीपावली तथा इलाम नगरपालिकामा भने मोटरसाइकल र्याली र दीपावलीको कार्यक्रम गर्ने तयारी भइरहेको पार्टी जिल्ला कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्