ठगीको अभियोगमा २ जना पक्राउ



काठमाडौं, (नेस) ।

पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा कोटेश्वरस्थित युनिवल्र्ड इन्टरनेसनल टुर एन्ड ट्राभल्स प्राइभेट लिमिटेडका सञ्चालक र व्यवस्थापक गरी २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ट्राभल्सका सञ्चालक काठमाडौं मैतिदेवी बस्ने अमृत सोती मगर र व्यवस्थापक ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने समिर कार्की रहेका छन् । वर्किङ भिसामा पोर्चुगल जान प्रतिव्यक्ति १४ लाख रुपियाँ लाग्ने र पोर्चुगल पुगेपछि होटल तथा कम्पनीमा काममा लगाईदिने, उक्त कामबाट मासिक १ लाख रुपियाँभन्दा बढी कमाई हुने प्रलोभनमा पारी ४ जनाबाट प्रतिव्यक्ति १० लाखका दरले ४० लाख रुपियाँ लिई ठगी गरेको पाइएपछि महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्