जोमसोम–कोरल्ला सडक अन्तिम चरणमा



पर्वत ।

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम बजारदेखि नेपाल र चीनको सिमानासम्म सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ ।

मुस्ताङको जोमसोमदेखि कोरला नाकासम्मको १ सय १० किलोमिटर सडकको ७ खण्डमध्ये ६ खण्डको स्तरोन्नति भइसकेको छ भने एउटा खण्डको काम अन्तिम चरणमा पुगेको छ ।

उक्त खण्डको सडकलाई दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले २०७३ असोजदेखि ७ वटा खण्डमा ठेक्का लगाएको थियो । जोमसोम–कोरला सडक स्तरोन्नतिका लागि २ अर्ब ६ करोड रुपियाँ बजेट विनियोजन भएको थियो । झैटेदेखि चराङसम्मको १९ किलोमिटर, छोसेरदेखि कोरलासम्मको १४ किलोमिटर, जोमसोमदेखि ताङ्वेसम्मको १८ किलोमिटर, ताङ्वेदेखि चैलेसम्मको ११ किलोमिटर, चैलेदखि भेनासम्म ११ किलोमिटर र भेनादेखि झैटेसम्मको १२ किलोमिटर सडक स्तरोन्नतिको काम सकिएको आयोजना प्रमुख जगत् प्रजापतिले बताउनुभयो ।

उहाँका अनुसार चराङदेखि छोसेरसम्मको २५ किलोमिटर लामो सडकमा ६५ प्रतिशतमात्र प्रगति भएको छ । यस खण्डको जिम्मा लिएको तामाङ–गौरी–पार्वती–कोसी–न्यौपाने जेभीले सडक स्तरोन्नतिको काम समयमै सम्पन्न नगरेपछि आयोजनाले बैंक जमानत जफत गरेको छ ।

आयोजनाका अनुसार सडक अलपत्र पारेपछि निर्माण कम्पनीको १ करोड ९ लाख रुपियाँ बैंक जमानत जफत गरिएको हो । ‘ढिलासुस्तीले प्रभावित भएको चराङ–छोसेर खण्डलाई गति दिन निर्माण व्यवसायीलाई ताकेता गर्दा समेत कुनै पहलकदमी भएन’, आयोजना प्रमुख पराजुलीले भन्नुभयो– ‘यस खण्डको जिम्मा लिएको कम्पनीलाई कोभिडका कारण अन्तिमपटकका लागि चैत महिनासम्मको मात्र समयसीमा थप भएको छ, विगत ३ वर्षदेखि काम अलपत्र छोडेपछि बैंक जमानत जफतसम्म पुगेका हौं ।’

प्रतिक्रिया दिनुहोस्