शहीद स्मृति फुटबल माघ १६ देखि



Football.

हेटौंडा, (नेस) ।

शहीद दिवस अर्थात् माघ १६ देखि २६ सम्म हेटौंडामा हुने गरी शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताका लागि मिति तोकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा आयोजना हुँदै आएका मुख्य ६ गोल्डकप फुटबल प्रतियोगिताको आयोजनाको मिति तय गरेको हो । एन्फाले मिति तय गरेको शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता ‘ए’ श्रेणीमा परेको प्रतियोगिता हो ।

११ वर्षपछि हेटौंडामा २०७५ मा शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता भएको थियो । २०६२/०६३ को जनआन्दोलन लगत्तै हेटौंडामा प्रतियोगिता सञ्चालन गरिएको थियो । २०६४ सालमा आयोजना गरिएको शहीद स्मृति फुटलब प्रतियोगितालाई निरन्तरता दिइएको आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।

प्रतियोगितामा नेपालका चर्चित क्लबसहित १० वटा टोलीको सहभागिता थियो । प्रतियोगितामा आयोजक, डफिन्स र थ्रीस्टार, आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, हिमालयन शेर्पा, मच्छिन्द्र, सरस्वती र च्यासल युथ क्लब सहभागी भएका थिए । प्रतियोगिताको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो । प्रतियोगिता विजेता तथा उपविजेताले नगद क्रमशः ८ लाख रुपियाँ र ४ लाख रुपियाँ प्राप्त गरेका थिए ।

एन्फाको बुधबार जारी पत्रअनुसार माघ ६ देखि १५ गतेसम्म पोखरामा हुने प्रतिष्ठित आहा रारा गोल्डकपका लागि मिति तोकिएको छ । फागुन १४ देखि २१ सम्म बुटवलको तिलोत्तमा गोल्डकप र सोही मितिमा इटहरी गोल्डकपका लागि पनि मिति तोकिएको एन्फाले पत्रमा उल्लेख गरेको छ । फागुन १९ देखि २८ सम्म पोखरा गोल्डकप र फागुन २६ देखि चैत ५ गतेसम्म सिमरा गोल्डकप आयोजनाका लागि एन्फाले मिति तय गरेको हो । एन्फाले छिटै अन्य प्रतियोगिता आयोजनाका लागि मिति घोषणा गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्