कोसीपारिको कलाती भुम्लुमा निःशुल्क स्वास्थ्य शिविर


मोतीराम तिमल्सिना, काभ्रे ।

जिल्लाको विकट क्षेत्र कोसीपारि भुम्लु गाउँपालिका वडा नम्बर ६ कोलाँतीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । गरिब, असहाय तथा स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेका नागरिकहरूका लागि स्थानीय स्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो ।

रोटरी क्लब त्रिपुरेश्वर र रोटरी क्लब हेल्थ एण्ड प्रोफेसनलको संयुक्त आयोजना र समाजसेवी ताराबहादुर कुँवरको संयोजनमा भुम्लुको कोलाँतीमा शिविर आयोजना गरिएको हो । ‘गाउँबाट सहरसम्म स्वास्थ्यमा पहुँच नभएका नागरिकहरूलाई सबै प्रकारका सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो’–समाजसेवी ताराबहादुर कुँवरले भन्नुभयो–‘विगत वर्षहरूमा हजुरलाई नमस्ते परोपकारी संस्थाबाट आयोजना गरिएको शिविर यो वर्ष रोटरीको अगुवाइमा आयोजना गरी नागरिकहरूलाई सेवा प्रदान गरेका हौँ ।’ शिविरमा स्थानीय ५ सय नागरिकहरूले सेवा लिएका छन् ।

शिविरमा सामान्य परीक्षणको अलावा हाड जोर्नी, छाती तथा फोक्सो, स्त्री रोग, फिजियोथेरापी, श्वासप्रश्वास र भिडियो एक्स-रे सहितको सुविधा उपलब्ध गराइएको थियो । परीक्षण पछि आवश्यक पर्ने सेवाग्राहीहरुलाई निःशुल्क औषधी उपलब्ध गराइएको थियो भने गम्भीर प्रकृतिका अस्पतालमै उपचार गराउनु पर्ने नागरिकहरूका लागि काठमाडौँमा रहेको नेशनल अस्पताल कलंकी र स्पार्क होम कालिमाटीमा निःशुल्क उपचार गराउने व्यवस्था मिलाइएको छ ।

गाउँमा नै विशेषज्ञ सेवा प्राप्त भए पछि सर्वसाधारणहरू खुशी भएका थिए ।  शिविरका लागि स्थानीय सरकार भुम्लु गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष भरत शिवभक्ती, स्थानीय विभिन्न क्षेत्रका ब्यक्तिहरुले सहयोग गरेका थिए । शिविरमा समाजसेवी ताराबहादुर कुँवर, रोटरी क्लबका निवर्तमान अध्यक्ष भुवन श्रेष्ठ, अध्यक्ष डा. प्रकाश पौड्याल लगायतको सहभागिता रहेको थियो ।

समाजसेवी कुँवरले भुम्लुका सबै वडामा महिनाको एक पटक निःशुल्क शिविर सञ्चालनका लागि तयारी गरिएको बताउनु भयो । गत वर्ष पनि निःशुल्क शिविरको आयोजना गरी नागरिकहरूलाई स्वास्थ्यमा सहज पहुँच पु¥याउन समाजसेवी कुँवरले विशेष भूमिका खेल्नु भएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।