७७ लाख २५ हजार मात्रा खोप उपलब्ध



काठमाडौं ।

विश्व स्वास्थ्य संगठनले उपलब्ध गराउने कोभ्यास सुविधमार्फत नेपाललाई कुल ७७ लाख २५ हजार मात्रा खोप उपलब्ध भएको छ । तीमध्ये ६० लाख ३९ हजार मात्रा कोभिसिल्ड र १६ लाख ८६ हजार मात्रा मोडर्ना खोप रहेको छ । कोभ्यासको साझेदारीले बिहीबार जारी गरेको विज्ञप्तिमा खोपको अतिरिक्त ३० लाख थान सिरिन्ज, ८३ हजार थान सेफ्टी बक्स र १० थान विशिष्टकृत वाक इन कुलरहरू हस्तान्तरण गरिएको जनाएको छ ।

विज्ञप्तिमा खोप लगाउन आवश्यक सामग्री र उपकरण प्रदेश र नगरपालिकामा छिट्टै वितरण गर्ने जनाएको छ । कोभ्याक्सअन्तर्गतको पछिल्लो आपूर्तिले नेपाली जनताको जीवन सुरक्षा गर्ने नेपाल सरकारको प्रयासलाई थप बल पुर्याउँदै जाने विज्ञप्तिमा उल्लेख छ । २२ डिसेम्बरसम्मको तथ्यांकअनुसार नेपालमा २ करोड २० लाख मात्रा खोप लगाइसकिएको छ । जसमध्ये ९७ लाख जनसंख्याले पूर्ण खोप पाइसकेका छन् ।

त्यस्तै, १ करोड ३८ लाखले आंशिक रूपमा पहिलो मात्रा खोप पाएका छन् । यो उपलब्धि साझेदार देशको सहकार्य र राज्यबाट सोझै खरिद प्रक्रियामार्फत कोभ्याक्स सुविधाअन्तरगत हासिल भएको विज्ञप्तिमा उल्लेख छ ।

कोभ्याक्सअन्तरगत अझै १६ लाख ८६ हजार मात्रा मोडेर्ना खोपहरू आपूर्ति हुँदै छ । उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने अभियानको निरन्तरतालाई बल पुर्याउने पनि विज्ञप्तिमा उल्लेख छ ।

सीईपीआई, गावी, युनिसेफ र विश्व स्वास्थ्य संगठनको सहकार्यका रूपमा रहेको कोभ्याक्स सुविधा साझेदार सरकारहरू, अन्तर्राष्ट्रिय संस्थाहरू, प्रतिष्ठानहरू र निजी क्षेत्रको ठूलो परिमाणको सहायताबाट सम्भव भएका विज्ञप्तिमा जनाएको छ । कोभ्याक्सअन्तर्गत खरिद गरिएको खोपको नेपालमा भएको आपूर्तिलाई संसारभरि कोभिड–१९ खोपको समतामूलक वितरणको सुनिश्चितताको एउटा अंशकाका रूपमा लिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्