‘नेपाली लोकविश्वास’ प्रकाशित



काठमाडौं, (नेस) ।

घाँटी छुँदा फुफु गरेर हात फुक्नुको कारण के होला ?
बिट फुटेको थाल वा कचौरामा किन खानु हुँदैन ?
बिरालोले बाटो काट्दा किन अशुभ मानिन्छ ?
शनिबार छुट्टिनु र मङ्गलवार मिसिनु किन हुँदैन ?
पानी नपर्दा किन भ्यागुताको बिहे गराइएको होला ?

नेपाल प्रज्ञा–प्रतिष्ठानले यी र यस्तै अनेकौँ प्रश्नका उत्तर लोकजीवनबाट खोजेर ‘नेपाली लोकविश्वास’ नामक कृति प्रकाशन गरेको छ । पछिल्लो समयमा ऐतिहासिक महत्त्वका गुणात्मक मूल्य राख्ने नयाँ तथा पुराना कृतिको लगातार प्रकाशन गर्दै आएको प्रतिष्ठानले यस कृतिमा नेपाली लोकजीवनमा युगौँयुगदेखि रहँदै आएका विश्वासलाई एकै ठाउँमा समेटेर प्रकाशन गरेको हो । यो कृति नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य विभागको अनुसन्धान परियोजनाअन्तर्गत डा. षडानन्द पौड्यालले तयार गर्नुभएको हो ।

एघार अध्यायमा विभाजित प्रस्तुत कृतिको पहिलो अध्यायमा लोकविश्वासको सैद्धान्तिक स्वरूप प्रस्तुत गरिएको छ भने दोस्रो अध्यायदेखि नवौँ अध्यायसम्म मानव शरीरसँग, खानासँग, मानवेतर शरीरसँग, यात्रासँग, व्यवहारसँग, शास्त्रीय विधानसँग, संस्कृतिसँग र सपनासँग सम्बन्धित आठ सयभन्दा बढी लोकविश्वासलाई कतै सूचनात्मक र कतै विश्लेषणात्मक ढाँचामा प्रस्तुत गरिएको छ ।

सुन्दा सामान्य लाग्ने तर वर्षौंदेखि नेपाली लोकजीवनको प्रतिबिम्ब बनेर बसेका लोकसामग्रीलाई कृतिका रूपमा प्रकाशन गर्नु प्रज्ञा–प्रतिष्ठानको प्रशंसनीय कार्य हो । यो कृति त्रिविलगायत विभिन्न विश्वविद्यालयमा नेपाली लोकसाहित्य र लोकजीवनको अध्ययन, अध्यापन र अनुसन्धान गर्नेहरूका लागि मात्र नभएर सर्वसाधारण पाठकका लागि पनि अत्यन्त उपयोगी रहेको विभागीय प्रमुख प्राज्ञ डा. देवी नेपालले बताउनुभएको छ ।

कुनै सकारात्मक विश्वास र कुनै अन्धविश्वासका रूपमा रहेका लोकविश्वासलाई एकै ठाउँमा समेटिएको ५२० पृष्ठ र ५६० मूल्य रहेको यो कृति नेपाल प्रज्ञा–प्रतिष्ठानको बिक्रीकक्षमा र अधिकृत विक्रेतामार्फत देशभरका पुस्तक पसलमा प्राप्त गर्न सकिने प्रज्ञा–प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्