इन्द्र गिरी, संखुवासभा ।
निर्वाचन आयोगका आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन आगामी वैशाख महिनासम्म गर्ने तयारी गरिएको बताउनुभएको छ । उहाँले स्थानीय तहको देशैभरि एकै चरण, एकै दिन निर्वाचन गराउने आयोगको तयारी रहेको बताउनुभयो ।
संखुवासभा जिल्लामा हाल सञ्चालन भइरहेको मतदाता नामावली सङ्कलन र व्यवस्थापनका विषयमा छलफल गर्न खाँदवारी आएका निर्वाचन आयोगका आयुक्त थपलियाले पत्रकारसँग कुराकानी गदै स्थानीय तहको ५ वर्षे पदावधि जेठ ५ गते सकिने र २ महिना अगाडी निर्वाचन गराउने कानुनी व्यवस्था भएकाले २०७९ वैशाख महिनासम्म निर्वाचन गराउने बताउनुभयो ।
उहाँले अघिल्लो स्थानीय तहको निर्वाचन तीन चरणमा गरिएकोमा यसपटक स्थानीय तहको देशैभरि एकै चरण, एकै दिन निर्वाचन गराउने आवश्यक तयारी गरेको बताउनुभयो । निर्वाचन आयोगले राजनैतिक अनुकूलता, प्रशासनिक बन्दोबस्त हेरेर आयोगको तर्फबाट हुने खर्चलाई मध्यनजर गरेर एकै पटक निर्वाचन गराउन लागीएको आयुक्त थपलियाले चर्चा गर्नुभयो ।
उहाँले अहिले देशैभरि मतदाता नामावली संकलन भइरहेकोले राजनैतिक दल, नागरिक समाज, कर्मचारी लगायतले कोही पनि मतदानबाट वञ्चित नहुन मतदाता नामावली छुट भएका बालीग नागरिकलाई नामावली संकलनमा सहयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी अहिले पौष २० गतेभित्र नामावली संकलन स्थानीय तहमा भइरहेको छ । कुनै पनि व्यक्तिले जो जहाँ जुन ठाउँमा भए पनि नामावली दर्ता गराउन सकिने बताउनुभयो । यस वर्ष देशभर ३ सय १४ मतदान केन्द्र थप भएको समेत बताउनुभयो ।











प्रतिक्रिया