पार्टीको जित सुनिश्चित गराउन ओलीको आग्रह



पुष्कर बुढाथोकी, भक्तपुर ।

नेकपा एमालेको शनिबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले विभिन्न ८ वटा निर्णय गरेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार बैठकले दशौं महाधिवेशनको समीक्षा गर्दै महाधिवेशन भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ ।महाधिवेशनपश्चात् पार्टी नीतिगत रूपमा थप स्पष्ट र सही ढंगले दिशानिर्देशित भएको एमालेले जनाएको छ । चितवनमा सम्पन्न महाधिवेशनको समीक्षाको निष्कर्षमा पार्टी संगठनात्मक रूपमा थप सुदृढ र व्यवस्थित भएको उल्लेख छ ।

बैठकले नेता अमृत बोहोराको अध्यक्षतामा केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेको छ । यसै गरी, आगामी पुस २३ गते सबै जिल्लाका अधिवेशन र माघ ८ गते सबै प्रदेशका अधिवेशन गर्ने निर्णय गरेको एमालेले जनाएको छ ।

बैठकले नेकपा एमालेले महाधिवेशनबाट संशोधन भएको विधानको सम्पादन र नियमावली संशोधनका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा केन्द्रीय सदस्यहरु खगराज अधिकारी र रमेश बडाल हुनुहुन्छ ।
बैठकले बैठक सञ्चालनसम्बन्धी कार्यविधि र सुझावसहित पारित गरेको छ । केन्द्रीय कमिटिको बैठकले माघ र फागुनमा पार्टी विस्तार र पार्टी प्रवेश कार्यक्रम सञ्चालन गर्ने उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । उहाँले बैठकले फागुनभरिमा सबै जनसंगठनका महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेकोे जानकारी दिनुभयो । बैठकमा शपथ ग्रहण बाँकी भएका केन्द्रीय सदस्यहरुको शपथ ग्रहण भएको उहाँले जानकारी दिनुभयो ।

नेकपा एमालेको जारी बैठक शनिबारलाई सकिएको र आज आइतबारको बैठकमा केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो र स्थायी कमिटि गठनलगायतका एजेन्डामा छलफल हुने भएको छ । बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

उहाँले आगामी निर्वाचनमा पार्टीको जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न सिंगो पार्टी पंक्तिलाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीले पार्टीका नेताहरूले देश र जनताको सेवक भएर काम गर्नुपर्ने बताउँदै राष्ट्रको अभिभारा एमालेको काँधमा रहेको उल्लेख गर्नुभयो ।
पार्टीका जनवर्गीय संगठनहरु अधिवेशनबिना मनोनित पदाधिकारीबाट चलिरहेको भन्दै अविलम्ब सबै संगठनका अधिवेशन आयोजना गर्न निर्देशन दिनुभएको छ । सबै संगठनले आउने चुनावलाई असर पार्ने गरी नभई पार्टीको मार्गदर्शनमा काम गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले पार्टीमा अन्य पार्टीबाट प्रवेश गर्नेहरूको लहर ल्याउन र आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित हुने गरी जनताको बीचमा पुग्न पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले जनता आफ्नो पार्टीको साथमा रहेकाले आगामी निर्वाचनमा विजयी हुनका लागि पार्टीले कुनै पनि मोर्चाबन्दी गरिरहन नपर्ने दाबी गर्नुभयो । ओलीले जनता एमालेको साथमा रहेकाले आउँदा निर्वाचनमा विजयी हुनका लागि पार्टीले कुनै पनि मोर्चाबन्दी गर्नु नपर्ने जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले पार्टीका नेताहरूलाई हरेक वडा तहमा जाँदा पनि त्यहाँका पाँच मुख्य कामबारे जानकारी लिएर आउन निर्देशन दिनुभएको छ । उहाँले पार्टीको चालू केन्द्रीय कमिटि बैठकले कार्यविभाजन पनि गर्ने भएकाले पाएको जिम्मेवारी तीव्रताका साथ पूरा गर्न नेताहरूलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्