पौडेलको समूहले आज साँझसम्म उम्मेदवार टुंगो लगाउने



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको संस्थापन इतर समूहले अझैपनि सभापतिमा साझा उम्मेदवार तय गर्न सकेको छैन । समूहमै सभापतिका आकांक्षी धेरै भएपछि साझा उम्मेदवार टुंग्याउन सकिएको छैन । सभापतिका आकांक्षी प्रकाशमान सिंह र डा.शेखर कोइरालाले सभापतिमा आफ्नो दाबेदारी नछाडेपछि सहमति जुट्न नसकेको बताइएको छ ।

आजदेखि सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतर समूहलाई उम्मेदवार टुंगो लगाउन सकस बन्दै गइरहेको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले आज साँझसम्म उम्मेदवार टुंगो लगाउने बताइएको छ । त्यसका लागि महाधिवेशनको उद्घाटन सकिएपछि संस्थापनइतर पक्षका केन्द्रीय सदस्य, जिल्ला सभापतिसहितको छलफल राखिएको छ ।

यसअघि पौडेललाई भेट्न अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, महेश आचार्य, गगन थापालगायतका नेता बोहराटार पुगेका थिए । मनोनयन दर्ता गर्ने समय भोलिका लागि तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्