विकास निर्माणले रोकेन बसाइँसराइ

एक वर्षमा तीन सय घरले छाडे गाउँ



दुर्गाप्रसाद शर्मा, पर्वत ।

ग्रामीण बस्तीमा शिक्षा, स्वास्थ्य, सडक, विद्युत्, खानेपानीको सुविधा नभएकै कारण बजार झर्ने लहर चल्यो । एक दशकयता गाउँमा पक्की सडक, शिक्षा, विद्युत्, आधारभूत स्वास्थ्य सुविधा पनि पुगेको छ तर बसाइँ झर्ने क्रम रोकिएको छैन ।

पर्वतको फलेबास नगरपालिकामा विकास निर्माणका पूर्वाधार धमाधम बने पनि वर्षेनी सयौं बासिन्दा बसाइँ सरेर अन्यत्र गएको भेटिएको छ । एक वर्षको अवधिमा मात्रै फलेबासबाट ३ सयभन्दा बढी परिवार बसाइँ सरेका हुन् ।

नगरपालिकाबाट बसाइँ सराइको कागजात बनाउन ३ सय परिवार भए पनि यसको दोब्बरभन्दा बढी संख्यामा घर–परिवारले गाउँ छाडेका छन् । नगरपालिकाको पञ्जीकरण शाखाको गत वर्षको तथ्यांकअनुसार १ सय ३ परिवारका २ सय ९८ जनाले बसाइँसराइ गरेका छन् । उनीहरुमध्ये अधिकांश परिवार तराईका जिल्ला, त्यसमा पनि बजारक्षेत्रमा बसाइँ सरेको देखिन्छ । नगरका सबै वडामा बसाइँसराइको सिफारिस लिएका आधारमा यो तथ्यांक निकालिएको पञ्जीकरण शाखाका अधिकृत कृष्ण पौडेलले बताउनुभयो । ‘नगरपालिकाबाट बसाइँसराइको कागजात लिएर जानेको संख्यामा यति हो तर यसको दोब्बरभन्दा बढी संख्याले त कागजात नबनाइकन बसाइँ सरेका छन् ।’

फलेबासमा नगरपालिकामा मुख्य सडक कालोपत्र भइसकेको छ । शाखा सडकहरुको पनि स्तरोन्नति र चौडा पार्ने काम तीव्र छ। माध्यमिक विद्यालयका लागि बसको व्यवस्था गरेको छ । कृषि तथा पशु अधिकृतको व्यवस्थापन गरेर किसानका समस्या समाधानमा केन्द्रित पनि छ । नगरवासीका खानेपानी, सिँचाइ, सामुदायिक भवन, कृषिलगायत क्षेत्रका समस्या समाधान र योजना वितरण गर्न वडैपिच्छे सम्झौतासमेत भइरहेको छ । तर, जतिसुकै विकासका पूर्वाधार बने पनि स्थानीयले नगर छाड्ने क्रम भने नरोकिएको गुनासो स्थानियबासीको छ ।

‘हरेक मान्छे सुविधाको खोजीमा हुन्छ’, अधिकृत पौडेलले भन्नुहुन्छ– ‘यहाँभन्दा बढी सुविधा अन्यत्र पाएपछि यहाँ बसिरहने कुरा हुँदैन । हामीले पनि बसाइँसराइको सिफारिस मागेपछि नदिने कुरा हुँदैन ।’ बसाइँसराइको सिफरिस लिने क्रममा कारण उल्लेख गर्नुपर्ने हुन्छ । अधिकांश वडाबाट आएका विवरणमा रोजगारी, शिक्षा, स्वास्थ्यलगायत सुविधाको खोजीमा बसाइँ सर्न लागेको कारण खुलाइएको पाइएको छ । कतिपयले रोजगारीका सिलसिलामा अतिरिक्त सुविधा लिनकै लागि अन्यत्र गएको देखिन्छ । सरकारी कर्मचारीलाई अन्तरजिल्ला बसाइँ सरेको सिफारिस पेस गर्दा अतिरिक्त सुविधा पाइन्छ ।

बसाइँसराइ रोक्न नगरपालिकाले घर–घरै सीपमूलक तालिम, कृषि तथा पशुपालनमा अनुदान, दूध र मासुमा अनुदान तथा हरित नगरलगायतका थुप्रै लोकप्रिय कार्यक्रमहरु ल्याएको छ । तर, नगरको विकास भइरहेको अवस्थामा समेत नगरवासी स्थायीरूपमै अन्यत्र जाने क्रम नरोकिनु दुःखद पक्ष भएको नगर प्रमुख पदमपाणि शर्मा बताउनुहुन्छ । ‘कतिपयलाई बसाइँसराइ बाध्यता होला’, उहाँ भन्नुहुन्छ– ‘विकासकै अभावले नगरवासी बसाइँसराइ गर्नुपर्ने अवस्था छैन । भएको भए त्यो दुःखद हो। रोक्ने कार्यक्रम ल्याउँछौं ।’

 

प्रतिक्रिया दिनुहोस्