सरकारले भुक्तानी नदिँदा ४१ विद्यालय ऋणमा



मोतीराम तिमल्सिना, काभ्रे ।

भूकम्पले भत्काएकामध्ये पुनर्निर्माण सम्पन्न भइसकेका ४१ वटा विद्यालयको भुक्तानी हुन सकेको छैन । समयमै भुक्तानी हुन नसक्दा विद्यालय व्यवस्थापन समितिले सहकारीबाट चर्को ब्याजमा ऋण लिएर भुक्तानी गरिरहेका छन् ।

‘विद्यालय व्यवस्थापन समितिमार्फत निर्माण गरिएका ४१ वटा विद्यालयको भुक्तानी रोकिएको छ’, शिक्षा समन्वय एकाइ काभ्रेकी इन्जिनियर श्रेया झाले भन्नुभयो– ‘असार मसान्तअगावै निर्माण सम्पन्न भएका केही विद्यालय र असार मसान्तपछि निर्माण सम्पन्न भएका अधिकांश विद्यालयको भुक्तानी रोकिएको हो ।’ ४१ वटा विद्यालय, ५० वटा खानेपानी आयोजना र ७९ वटा शौचालयको निर्माण कार्य सम्पन्न भएको छ । ४१ मध्ये १० वटा विद्यालय दुईकोठे छन् । जसको निर्माण सम्पन्न पछिको भुक्तानी ४४ लाख ३८ हजार ७ सय ३२ रुपियाँ भुक्तानी गर्न बाँकी छ । ४ कोठे ३० वटा विद्यालयको ४ करोड २८ लाख रुपियाँ भुक्तानी गर्न बाँकी छ । ८ कोठे पक्की भवन १ वटा विद्यालयको ११ लाख ४१ हजार रुपियाँ भुक्तानी गर्न बाँकी छ ।

त्यस्तै, ७९ वटा शौचालय निर्माण सम्पन्न भएका छन् । जसका लागि ४ करोड ४२ लाख २८ हजार रुपियाँ भुक्तानी गर्न बाँकी छ । विद्यालयहरुका लागि खानेपानी आयोजना सञ्चालन गर्न निर्माण भएका ५० वटा योजनाको १ करोड २७ लाख रुपियाँ भुक्तानी गर्न बाँकी छ । सबै आयोजनाका तत्काल १० करोड ५४ लाख भुक्तानी गर्नुपर्ने भए पनि दशैंअघि ५२ लाख रुपियाँ मात्रै प्राप्त भएको शिक्षा समन्वय एकाइ काभ्रेले जानकारी दिएको छ । विद्यालय ब्यवस्थापन समितिमार्फत निर्माण भएका विद्यालयहरुको भुक्तानी रोकिँदा समस्या परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले बताएका छन् ।

सिर्जनशील जनता मावि, चक्रज्योति मावि बनेपालगायतका विद्यालयहरुको निर्माणकार्य असार मसान्तमा सकिएको थियो । सोही विद्यालयहरुले अझै भुक्तानी प्राप्त गरेका छैनन् । निर्माण सामग्री खरिद गरेका स्थानहरुमा भुक्तानी दिन सहकारीबाट ऋण लिएर भुक्तानी गरेकाले चर्को ब्याज तिर्नुपरेको विद्यालयहरुले बताएका छन् । इन्जिनियर श्रेया झाले असार मसान्तभित्र भुक्तानी गर्नुपर्ने रकम ६ महिना बितिसक्दा समेत भुक्तानी गर्न नसकिएको बताउनुभएको छ । जिल्लामा अझै केही विद्यालय निर्माणाधीन छन् । निर्माण भइरहेकामध्ये केही ठेक्कामार्फत भएका छन् । भारतीय दूतावासमार्फत निर्माण भएका जिल्लाका विद्यालयमध्ये ६ वटा हस्तान्तरण हुन बाँकी छन् । ७ वटा रेट्रोफिटिङ गरिएका विद्यालय पनि हस्तान्तरण भएका छैनन् । थप ५ वटा विद्यालय रेट्रोफिटिङ भइरहेको इन्जिनियर झाले बताउनुभयो ।

जिल्लाको महाभारत गाउँपालिकामा रहेको कालीदेवी मावि कुपिन्टार र गोकुले मावि गोकुले, जनकल्याण मावि घर्तीछापमा एडीबीको सहयोगमा विद्यालय निर्माण हुँदै छ । ठेक्का सम्झौता भई निर्माण कार्य शुरु भएका विद्यालयहरुमा भने भुक्तानी रोकिएको छैन । विद्यालय व्यवस्थापन समितिमार्फत गरिएका विद्यालयहरुको भुक्तानी भने अझै हुन सकेको छैन । भूकम्पको पुनर्निर्माणअन्तर्गत पछिल्लो कार्यक्रमअनुसार १ सय ३८ शौचालय निर्माण गरिएकामध्ये अघिल्लो आर्थिक वर्षमा ५९ वटाको भुक्तानी भइसकेको छ । खानेपानीका ८८ आयोजनामध्ये ३८ वटा निर्माण सम्पन्न भई भुक्तानी भएका छन् ५० वटाको भुक्तानी बाँकी छ ।

भुक्तानी रोकिएका विद्यालय

प्रतिक्रिया दिनुहोस्