ट्राफिक प्रहरी सेवा प्रविधिमैत्री बन्दै



काठमाडौं ।

उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन अभियान नै थालेको छ । ट्राफिक प्रहरीले दिने सेवालाई प्रविधिमैत्री बनाउँदै आम सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने अभियानतर्फ लम्किरहेको अवस्थामा बिहीबारदेखि थप सेवा चालु गरेको छ ।

सवारी चालकहरूले ट्राफिक नियम उल्लंघन गरेपश्चात् ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टे पुर्जीबापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै कारबाही स्थलबाटै भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सक्ने भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बिहीबार एक कार्यक्रमका बीच प्रविधिमा आधारित ‘पे फाइन अन द स्पोर्ट–इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ व्यवस्थाको सुरुआत गर्नुभएको छ ।

सो अवसरमा एसएसपी भट्टराईले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुँदै गएको चर्चा गर्दै अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरी थप सहज बनाउन जरिवाना रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिने प्रणालीको शुरू गरेको बताउनुभयो ।

पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावलाखेल र जनसेवा गरी पाँचवटा ट्राफिक कार्यालयबाट शुरू गरेको यो सेवालाई क्रमशः अन्य कार्यालयमा समेत बिस्तार गर्ने महाशाखाले जनाएको छ ।

मादक पदार्थ सेवन गरी सवारी चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका चालकहरूले भने ट्राफिक जनचेतनामूलक प्रशिक्षण लिएपछि ट्राफिक प्रहरी महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सकिने समेत महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्