अक्सिजन प्लान्ट सञ्चालनमा नआउँदै मेसिनमा खिया लाग्न थाले



अनिल खत्री,गुल्मी ।

गुल्मी जिल्लामा अक्सिजन प्लान्ट सञ्चालनमा नआउँदै सामग्रीहरू जीर्ण बन्न थालेका छन् । गुल्मी जिल्ला सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा निर्माण गर्न लागिएको प्लान्ट सञ्चालनका लागि समयमै काम सम्पन्न नहुँदा ल्याइएका सामग्रीमा खिया लाग्न थालेका हुन् ।

कोरोना महामारीमा संक्रमितको उपचारमा अक्सिजनको अभाव जिल्लामा नहोस् भनेर जिल्लाबाटै अक्सिजन उत्पादन गर्ने उद्देश्यले प्लान्ट निर्माण कार्य अगाडि बढाइएको हो । तर, लामो समयसम्म पनि अक्सिजन प्लान्ट सञ्चालनमा आउन सकेको छैन् ।अक्सिजन प्लान्ट सञ्चालनका लागि आएका सामग्रीमा पनि खिया लागेको छ । जिल्लामै अक्सिजन उत्पादन गर्ने उद्देश्यले सदरमुकाम तम्घासमा प्लान्ट निर्माण कार्य ढिलाइ हुँदा सामग्रीहरू जीर्ण बन्न थालेका छन् ।
अक्सिजन प्लान्ट राख्ने भवन गत भदौमा सम्पन्न हुनपर्नेमा अझैसम्म सम्पन्न हुन सकेको छैन । अक्सिजन प्लान्ट राख्ने भवन बनाउन गुल्मी उद्योग वाणिज्य संघले आफ्नै लगानीमा बनाउने जिम्मा लिएको थियो ।

भवन बनाउने जिम्मेवारी उद्योग वाणिज्य संघ गुल्मीले लिए पनि समयमै काम नसक्दा अक्सिजन प्लान्ट सञ्चालनमा ढिलाई भएको गुल्मी अस्पताल व्किास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले बताउनुभयो । जसले गर्दा अक्सिजन प्लान्टका मेसिनहरू खिया लागिसकेको गुल्मी अस्पताल विकास समितिका अध्यक्ष पाण्डेकोे भनाइ छ ।
अक्सिजन प्लान्ट सञ्चालन गर्न गत असारमै सामग्रीहरू आएका थिए । तर, राख्ने ठाउँको काम सम्पन्न नहुँदा ल्याइएका मेसिनहरू वर्षात्को पानीमा भिजेकाले अहिले खिया लाग्न थालेका हुन् ।जसले गर्दा मेसिनहरूले काम नगर्ने हुन् कि भन्ने चिन्ता बढाएको अध्यक्ष पाण्डेको भनाइ छ । भवन निर्माणको जिम्मा लिएको गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले वाणिज्य संघले जिम्मा लिएको काम जति सम्पन्न गरेको बताए ।

उहाँले अब बाँकी रहेको काम अस्पताल विकास समितिले गर्नुपर्नेमा जोड दिए । वाणिज्य संघले अक्सिजन प्लान्ट सञ्चालन गर्ने जिम्मा नलिएको र भवन बनाउने काम सम्पन्न गरिदिएको भुसालले बताउनुभयो ।जिल्लामा करिब डेढ करोडको लागतमा प्रतिदिन एक सय सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट स्थापना गर्न लागिएको हो । प्लान्ट निर्माणका लागि नेपाल सरकारबाट एक करोड र नेपाल पत्रकार महासंघको नेतृत्वमा जिल्लास्थित सामाजिक संघ संस्था व्यक्तिहरूको सहयोगमा ६० लाख संकलन गरिएको थियो ।

सरकारबाट प्राप्त भएको अक्सिजन प्लान्ट मेसिन सञ्चालनमा आउन नसक्दा सामग्रीमा खिया लागेपछि बिग्रिने सम्भावना बढेको पाण्डेको भनाइ छ । जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्नेहरूले पनि लामो समयसम्म सञ्चालनमा आउन नसक्दा प्रश्न उठेको छ ।प्लान्ट निर्माण गर्न नागरिकस्तरमा गत वैशाखको अन्तिम महिनामा गुल्मी जिल्लामा अभियान चलाएर रकम संकलन गरिएको थियो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले नेपालमै पहिलोपटक अक्सिजन अभियान सञ्चालन गरेर विभिन्न माध्यमबाट सहयोग उठाउँदै कोरोना कहरको समयमा मानिसको ज्यान बजाउन निकै महत्वपूर्ण काम गरेको थियो ।

जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्नेहरूले पनि लामो समय सम्म सञ्चालनमा आउन नसक्दा प्रश्न गरेको नेपाल पत्रकार महासंघ गुल्मीका निर्वतमान अध्यक्ष नवराज भुसालले बताउनुभयो । धेरै पहिला जिल्लामा अक्सिजन प्लान्ट सञ्चालनमा आउनुपर्ने भुसालको भनाइ छ ।प्लान्ट निर्माण गर्न नागरिकस्तरमा गत वैशाखको अन्तिम महिनामा गुल्मी जिल्लामा अभियान चलाएर रकम संकलन गरिएको थियो । आएका मेसिन लगायतका सामाग्री सुरक्षित तरिकाले राख्न नसक्नु दुःखद् पक्ष रहेको नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताउनुभयो ।

अन्यत्र जिल्लामा धेरैपछि अक्सिजन प्लान्ट निर्माण शुरू गरेर सञ्चालनमा आइसकेकाले यहाँ अझै शुरू हुन नसक्नु सम्बन्धित पक्षको कमजोरी देखिएको पाण्डेले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्