गोलाप्रथाबाट पेशी तोकियो तर न्याय सम्पादन हुन सकेन



काठमाडौं । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अनुपस्थितिका कारण अन्योलका बीच सर्वोच्च अदालतमा बिहीबार गोलाप्रथाबाट पेशी तोकिए पनि न्याय सम्पादन हुन सकेन ।

सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा उपचार गराइराख्नुभएका प्रधानन्यायाधीश जबराले त्यसबारे सर्वोच्च अदालतमा जानकारी नगराउँदा पेशी तोक्ने कार्यमा अन्योल उत्पन्न भएको हो ।प्रधानन्यायाधीशको अनुपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी कसको हो भन्ने प्रस्ट नहुँदा इजलास गठनमा मात्र ढिलाई भएको नभई मुद्दाको सुनुवाई समेत हुन नसकेको हो । बिहीबार १० वटा इजलास गठन गरिएको थियो । ती इजलासमा जम्मा १ सय ९२ मुद्दा सुनुवाइका लागि राखिएका थिए ।

मुद्दाको सुनुवाइका लागि पेशी सूची प्रकाशित गर्नु पहिलो काम हो । सामान्यतया १० देखि ११ बजेभित्रमा मुद्दाको पेशी तोक्ने गरिन्छ । तर, बिहीबार १ बजेसम्म पनि पेशीसूची प्रकाशित हुन सकेन । बुधबार इजलास गठन भएको केही घण्टामा नै बारका पदाधिकारीहरूले प्रश्न उठाएपछि कुनै पनि इजलासमा मुद्दाको सुनुवाइ हुन सकेको थिएन । बिहीबार पनि सर्वोच्चका न्यायाधीश र नेपाल बार एसोसिएसनका पदाधिकारीबीच भएको छलफलमा बारले कार्यवाहक प्रधानन्यायाधीश को हो ? भन्दै प्रश्न उठाएपछि बेन्च बस्न नसकेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताउनुभयो ।

छलफलको बीचमा न्यायाधीश हरिकृष्ण कार्कीले प्रधानन्यायाधीशलाई फोन गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थियो । त्यसक्रममा जबराले कार्यवाहकको कुरामा नअल्झिन भन्दै आफू अदालत आउने जवाफ दिएको थियो ।यसअघि गोला तान्दा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको एकल इजलास बनेको थियो । यस्तै, न्यायाधीशहरू मीरा खड्का र नहकुल सुवेदीको दुईवटा संयुक्त इजलास गठन भएको थियो । न्यायाधीश हरिकृष्ण कार्कीको साथमा न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको पूर्ण इजलास गठन भएको थियो ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तानको संयुक्त इजलास बनेको थियो । त्यसै गरी, सुष्मालता माथेमा, कुमार रेग्मी र डा. मनोजकुमार शर्माको पूर्ण इजलास गठन भएको थियो । न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलास गठन भएको थियो । न्यायाधीश प्रकाशमानसिंह राउत र डा. कुमार चुडालको संयुक्त इजलास गठन भएको थियो । सपना प्रधान मल्ल र तेजबहादुर केसीको संयुक्त इजलास गठन भएको छ । त्यस्तै, अर्को इजलास न्यायाधीश तेजबहादुर केसी र डा. कुमार चुडालको पनि संयुक्त इजलास गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्