सुनीलको दुई गोलमा मच्छिन्द्रको उत्कृष्ट शुरुवात



काठमाडौं  ।

साविक विजेता मच्छिन्द्र क्लबले यस सिजनको शहिद स्मारक ए डिभिजन लिगमा उत्कृष्ट शुरुवात गरेको छ ।दशरथ रंगशालामा सोमबार भएको खेलमा मच्छिन्द्रले छीमेकी क्लब एनआरटीलाई २–१ गोलअन्तरले हराएको हो । टिमको जितमा दुबै गोल सुनील बलले गरेका हुन् । उनले पहिलो हाफ र दोस्रो हाफमा एक एक गोल गरे । एनआरटीको तर्फबाट एरिक विष्टले गोल गरेका हुन् । योसँगै पहिलो चरणको खेल समाप्त हुँदा चार टिमले जित निकालेका छन् भने ६ टिमले बराबरी नतिजामा चित्त बुझाएका छन् ।

बेलुकी भएको खेल निकै रोमाञ्चक बनेको थियो । शुरुदेखि आक्रमक खेल देखाएको मच्छिन्द्रले १२ औं मिनेटमा अग्रता लिएको थियो । सुनील बलले विशाल राईले दिएको लामो पासलाई सदुपयोग गर्दै गोल गरे । उनले दायाँ विंगबाट अफसाइड बिट गर्दै डि बक्समा पुगेर दोस्रो बारमा प्रहार गरेका थिए । उक्त प्रहारलाई एनआरटीका गोलरक्षक अजीत प्रजापतिले रोक्न कुनै मौका पाएन । उक्त गोलसँगै मच्छिन्द्रले खेलमा अझ पकड बनाएको थियो ।यसको लगतै विशाल राईले वान भर्सेस वान गोल गर्न चुके । २२औं मिनेटमा भएको गोल अफसाइड घोषित हुँदा मच्छिन्द्रले अग्रता दोब्बर पार्न सकेन । यसको चार मिनेटपछि एनआरटी बराबरी गोल फर्काउन चुक्यो । क्रिटिस रत्न छुन्जुको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । पहिलो हाफमा मच्छिन्द्रले १–० को अग्रता लिएको थियो ।

दोस्रो हाफमा भने एरिकले शानदार गोल गर्दा चिसो रंगशालामा एनआरटीका समर्थकले गोल भन्न पाए । देवेन्द्र तामाङले स्टेफान समीरलाई फाउल गर्दा एनआरटीले फ्रिकिक हान्ने मौका पाएको थियो । करिब ३५ यार्ड टाढाबाट एरिकले प्रहार गरेको बलले सीधै मच्छिन्द्रको जाली हल्लाइदियो । उक्त दर्शनीय गोलसँगै एनआरटी खेलमा फर्कने छनक देखायो । तर, मच्छिन्द्रका फरवार्ड विधा निकै सशक्त हुँदा एनआरटीको लागि खेलमा मुभ बनाउन मुश्किल भएको थियो ।मच्छिन्द्रका लागि नोर्लानलाई सब्सीच्युट गरेका मनिष डाँगीले ७४ औं मिनेटमा डिबक्स बाहिरबाट प्रहार गरेको बल एनआरटीका गोलरक्षक अजीतले बचाए । उनी वान भर्सेस वानमा पनि गोल गर्न चुके ।

तर, ८०औं मिनेटमा सुनील पुन गोल गर्न सफल भए । उनले बायाँ विंगबाट कप्तान सुजल श्रेष्ठले गरेको क्रसमा गोल गरेका थिए । यो गोलसँगै मच्छिन्द्रले २–१ को अग्रता बनायो । अन्तिमतिर सब्सीच्युट भएका विमल घर्ती मगर र उत्सव राईले पनि गोल गर्ने सुन्दर अवसर गुमाएका थिए । विमलले बायाँ विंगबाट बल दौडाउँदै लग्दा विपक्षीमा गोलकिपर बाहेक कोही थिएनन् । तर, उनी डिबक्समा पुग्दा बलको वेग बढी भएपछि एनआरटीका गोलकिपर अजीतले सहजै नियन्त्रणमा लिन सफल भएका थिए ।

यसअघिको खेलमा विभागिय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले १–१ बराबरी खेले । पहिलो हाफ गोलरहित बराबरी सकिएको उक्त खेलमा दुबै गोल दोस्रो हाफमा भएका थिए । सन्तोष हेमरुनले ५९ औं मिनेटमा गोल गर्दै पुलिसलाई १–० को अग्रता दिलाए । तर, त्यसको दुई मिनेटमा आर्मीका विवेक बस्नेतले गोल फर्काएर खेल बराबरीमा ल्याएका थिए । यसपछि दुबै टिम गोल गर्न नसक्दा एक एक अंक बाँड्न विवश भएका थिए ।पहिलो चरणमा जित निकाल्ने टिममा मच्छिन्द्र, मनाङ मस्र्याङदी क्लब, थ्रीस्टार क्लब र ब्रिगेड ब्वाइज क्लब रहेका छन् ।

मछिन्द्रले एनआरटीलाई हरायो भने मनाङ मस्र्याङदीले जावलाखेल युथ क्लबलाई १–० ले पराजित गरेको हो । यस्तै थ्रीस्टारले छीमेकी क्लब च्यासल युवा क्लबलाई ३–० ले हराएको हो । ब्रिगेड ब्वाइजले भने विभागिय टिम एपीएफमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । यस्तै बराबरी नतिजामा हिमालयन शेर्पाले संकटा क्लबसँग १–१ बराबरी खेल्दा दुई विभागिय टिम पुलिस र आर्मीले सोही नतिजा आत्मसात गरे ।यस पटक ए डिभिजनमा पहिलो पटक खेलिरहेको टिम सातदोबाटो युवा क्लबको शुरुवात पनि खासै राम्रो भएन । ललितपुरको सातदोबाटो टिमले फ्रेन्डस् क्लबसँग गोलरहित बराबरी खेलेको हो । गत सिजनमा सातदोबाटो बी डिभिजन लिगमा पहिलो भएर ए डिभिजनमा उक्लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्