क्षमता अभिवृद्धिका कार्यक्रम ल्याउन दलित पत्रकारहरूको माग

महासंघ भन्छ - 'पहल गर्छौँ'



न्युज अफ नेपाल, काठमाडौं ।

दलित समुदायका पत्रकारहरूले आफूहरूको क्षमता विकास कार्यक्रम ल्याउन माग गरेका छन् । नेपाल पत्रकार महासंघले काठमाडौंमा गरेको ‘दलित समुदायका पत्रकारको अवस्था र महासंघको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी विभिन्न सरोकारवाला निकायका प्रमुख र पत्रकारहरूले अब आमसञ्चार माध्यमहरूले चार हजार वर्षदेखि उत्पीडनमा रहेको दलित समुदायका कथाव्यथा बाहिर ल्याउनुपर्ने आवश्यकता रहेको औंल्याए ।

उनीहरूले दलित समुदायकै पत्रकारको क्षमता विकास गराउन नसके त्यो समुदायका कथाव्यथा सञ्चार माध्यमसम्म पु¥याउनै नसकिने भन्दै त्यस्तो माग गरेका हुन् । कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदाय लामो समयदेखि उत्पीडनमा रहेको भन्दै त्यसको मुक्तिका लागि अक्षरमार्फत अघि बढ्न पत्रकारहरुलाई आग्रह गरे । ‘दलित समुदाय चार हजार वर्षदेखि उत्पीडनमा छ, यसको मुक्ति यति सहजै सम्भव छैन,’ उनले भने, ‘यसका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । हरेक दलितसँग अलग–अलग कथा छन्, त्यस्ता कथाव्यथाहरू बाहिर ल्याइनुपर्छ । तपाईहरूको कलमले दलितका त्यस्ता कथाव्यथालाई सार्वजनिक गर्नुपर्छ ।’

अध्यक्ष विश्वकर्माले नेपालमा संविधान र कानूनले जातीय विभेद र छुवाछुतलाई निषेध गरेपनि समाजमा अझै त्यस्तो विभेद व्याप्त भएकोमा दुःख व्यक्त गरे । ‘समाजका बुज्रुकहरू नै यो एकैपटक परिवर्तन हुदैन, क्रमश हुन्छ भन्ने गर्छन् । तर, त्यो विस्तार भनेको कहिले हो ? यो मानसिकतालाई हामीले कसरी फेर्ने ? यसबारे आमसञ्चार माध्यमले धारणा बनाउनुपर्छ,’ अध्यक्ष विश्वकर्माले भने । उनले पछिल्ला वर्षहरूमा दलित समुदायले विभिन्न अधिकारहरू पाएपनि दलितहरूमाथि हुने हिंसा भने बढ्दै गएकोप्रति ध्यानाकर्षण गराए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवम् नेकपा माओवादी केन्द्रकी नेतृ अञ्जना विशंखेले दलित पत्रकारका समस्या समाधानका लागि सबै पत्रकारहरु एकजुट भएर अघि बढ्न आग्रह गरिन् । उनले पछिल्लो समय राजनीतिक दल, संसद, सरकार र अन्य विभिन्न निकायमा दलित सहभागिता वृद्धि भएपनि दलित समुदायको मुक्तिको मुद्धा भने त्यसरी उठ्न नसकेको बताइन् । ‘दलित सहभागिता बढ्दो छ । तर, मुद्धामा एकता छैन,’ उनले भनिन्, ‘पत्रकारिता क्षेत्रमा पनि त्यस्तै समस्या देखिन्छ । तपाईहरूको एकता र निरन्तरता आवश्यक छ ।’ उनले दक्ष पत्रकारहरूको संख्या कम रहेकोमा दुःख व्यक्त गर्दै दलित समुदायका पत्रकारहरूको क्षमता विकासमा जोड दिन सुझाइन् ।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले दलित समुदायका पत्रकारको क्षमता विकास र उन्नयनका लागि महासंघ प्रतिवद्ध भएको बताए । उनले महासंघले पत्रकार र सञ्चार माध्यममा समावेशिता र सहभागिताको कुरा मात्रै नउठाउने भन्दै समाजमा जकडिएर रहेको जातीय विभेद र छुवाछुतको अन्त्यकैलागि विशेष लिन सक्ने बताए । उनले महासंघले आफ्नो संगठनमा दलित सहभागितालाई ध्यान दिएको भन्दै पत्रकारहरूको क्षमता विकासका लागि काम गर्ने बताए ।

महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले दलित पत्रकारको समस्या पहिचान गरी समस्या समाधान गर्न सम्बन्धित संघ संस्थासँगको अन्तरक्रियामार्फत अघि बढ्ने बताउनुभयो । महासंघका पूर्वकेन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले अझैपनि सञ्चारगृहमा दलित पत्रकारको समानुपातिक सहभागिता हुन नसकेको बताए । ‘पत्रकारको नाम सुन्ने बित्तिकै ऊमाथि गर्ने व्यवहार फरक पर्छ, पत्रकारले पनि विभेद खेपिरहेका छन्,’ उनले भने, ‘मुलधारका सञ्चार माध्यमले नै दलित समुदायका पत्रकारलाई स्थान दिएका छैनन् । त्यो समुदायको मुद्धालाई कति लेख्छन् ? हामीले देखेकै छौँ ।’

परियारले दलित समुदायका पत्रकारले एकैसाथ गरिबी, काठमाडौंको साँघुरो मानसिकता र जात व्यवस्थासँग लडेर पत्रकारिता गर्नुपर्ने बाध्यता रहेको बताए । ‘पत्रकार दलित हुदैन भनिन्छ । तर, यथार्थ अलग छ । दलित समुदायका पत्रकारले गरिबी झेल्नुपर्छ । काठमाडौंमा कोठा समेत पाउँदैनन्, जातीय हिंसाको शिकार हुनुपरेको छ,’ उनले भने, ‘यत्तिका अवरोधका बीच पनि दलित समुदायका पत्रकारको संख्या बढ्दो छ, अब उनीहरूको क्षमता विकासमा जोड दिनु जरुरी छ ।’

कार्यक्रममा बोल्दै पत्रकार बाबुराम विश्वकर्माले पत्रकारितामा पनि राज्यसत्ताको धङ्धङ्गी रहेको बताए । उनले दलितमाथि हुने गरेको विभेद र हिंसाका घटनालाई राज्यले गम्भीर मुद्दाका रुपमा नलिने गरेको भन्दै सञ्चार माध्यमको चरित्र पनि त्यस्तै रहेको बताए । ‘अहिले पनि हामी जातीय हिंसा सहिरहेका छौँ । त्यो पत्रकारले होस्, वा नेताले होस् ।

आमरुपमा हाम्रो भोगाई उही छ,’ उनले भने, ‘मिडिया पनि त्यो समाजभन्दा अलग छैनन् । मिडियामा त्यस्तै हालत छ ।’ उनले सञ्चार माध्यममा अप्रत्यक्षरुपमा दलित पत्रकारहरूमाथि विभेद हुने गरेको बताए । ‘दलित समुदायको पत्रकार लेखुञ्जेल रिपोर्टरका रुपमा ठीक छ, तर ऊ क्षमता भएर पनि ब्युरो प्रमुख बन्न सक्दैन । सम्पादक बन्दैन । राजनीतिमा होस् वा अन्य क्षेत्रमा अवस्था यही हो,’ उनले भने, ‘दलित समुदायको सहभागिता अवश्य बढेको छ, तर निर्णायक भूमिकामा दलित सहभागिता छैन ।’

उनले दलित समुदायको मुद्धालाई आमसञ्चार माध्यमले सार्वजनिक बहसको मुद्धा बनाउन नचाहने गरेको बताए । ‘समाज एउटा यति गहिरो जातीय हिंसा छ, अपराध छ, त्यसलाई जरैदेखि उखेल्न मिडियाले जस्तो भूमिका खेल्न सक्छ, त्यो भूमिका खेल्न अझैपनि तयार छैन,’ उनले भने, ‘नलेख्दा अफ्ठ्यारै पर्छ कि भनेरमात्रै लेख्ने चलन छ ।’

लेखक तथा अध्येता जेबी विश्वकर्माले दलित समुदायकाले सञ्चार माध्यमभित्रै विभेद खेपिरहेका बताए । ‘मिडियामा दलितमाथिको संरचनागत विभेदको कायम छ । दलितमाथिको अत्याचारका घटनामा मिडियाको भूमिका कमजोर छ,’ उनले भने । उनले दलित महिला पत्रकारको अवस्था झन् दुःखलाग्दो भएको बताए । अध्येता विश्वकर्माले दलित समुदायका पत्रकारको सहभागितालाई मात्रै बढाउने भन्दा पनि गुणस्तरलाई बढाउनुपर्नेमा जोड दिए ।

महासंघका केन्द्रीय सदस्य प्रकाश धौलाकोटीले महासंघले दलित समुदायका पत्रकारहरूको चौतर्फी विकास र सहभागितालाई ध्यानमा राखेर काम गर्ने बताए । उनले अहिले विभिन्न चरणका छलफलबाट समुदायका पत्रकारहरूका समस्याको पहिचान गरी तिनको समाधानका लागि महासंघमार्फत् पहल गर्ने समेत बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय दलित पत्रकार संघका महासचिव लक्ष्मण दर्नालले सञ्चारको क्षेत्रमा इतिहासमा कुटुवाल प्रथादेखि हालसम्म दलितहरुको महत्वपूर्ण भूमिका हुँदा पनि त्यसको कदर हुन नसकेको बताए । ‘पत्रकारिताको इतिहासमा कटुवाल प्रथाको योगदान छ । गन्धर्वहरूले गरेको मिसन पत्रकारितालाई पनि हाम्रो इतिहासले न्याय गर्न सक्नुपर्छ,’ उनले भने ।
महासचिव दर्नालले दलित समुदायका पत्रकारहरूको संख्या कम रहेको भन्दै उनीहरूलाई पत्रकारितामा आकर्षण गर्ने र क्षमता अभिवृद्धि गर्ने कार्यमा ध्यान दिनुपर्नेमा जोड दिए ।

क्रियाशील दलित पत्रकार संघका पवित्रा सुनारले दलित भएकै कारण कार्यक्षेत्र समेत पत्रकारहरुले जातीय विभेद सहनुपर्ने बाध्यता रहेको बताइन् । ‘समाज जस्तो छ, त्यसको चित्र मिडियामा छ, मिडिया समाजभन्दा अलग्गै छैन,’ उनले भनिन्, ‘हिंसा र विभेदको स्वरुप फरक हुनसक्छ । पत्रकार आफैँ विभेद खेपेर कसरी समुदायको मुक्तिको विषय उठाउन सक्छ ?’
जागरण मिडियो सेण्टरका महासचिव भीम घिमिरेले दलित समुदायको मुद्धालाई सञ्चार माध्यमले साझा मुद्धाका रुपमा अघि बढाउन नसकेका बताए ।

‘दलितका विषयमा दलितले मात्रै लेखेर पुग्दैन । यो आम सवाल बन्नुपर्छ । सार्वजनिक सवाल बन्नुपर्छ । तबमात्रै दलित समुदायमाथिको अन्यायको अन्त्य हुनसक्छ भन्ने लाग्छ,’ उनले भने । हाल महासंघको केन्द्र, प्रदेश र जिल्ला कार्यसमितिका विभिन्न संरचनामा एक सयभन्दा धेरै दलित समुदायका पत्रकार सम्बद्ध छन् भने महासंघका सदस्यमध्ये दलित समुदायका पत्रकारको संख्या एक हजारभन्दा धेरै रहेको छ । कार्यक्रममा दलित समुदायका पत्रकारहरुको अधिकारको क्षेत्रमा काम गर्ने संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरु र दलित समुदायका सक्रिय पत्रकारहरुको सहभागिता थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्