रसुवा माउन्टेन बाइक च्यालेन्ज हुँदै



सरस्वती न्यौपाने, रसुवा ।

साहसिक खेल क्षेत्रमा युवा पुस्तालाई आकर्षित गराउने र यस क्षेत्रबाट नयाँ खेलाडीहरू उत्पादन गराउन मङ्सिर १८ गते प्रथम हाई अल्टिच्युड रसुवा माउन्टेन बाइक च्यालेन्ज प्रतियोगिता हुने भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा साहसिक खेलकुदको विकास तथा जिल्लाको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनायो । प्रदेश खेलकुद विकास परिषद, वागमती प्रदेश तथा जिल्ला साइक्लिङ संघ रसुवाको संयुक्त आयोजनामा हुने प्रतियोगितालाई जिल्ला खेलकुद विकास समिति रसुवा र साइक्लिङ संघले समन्वय गरेका छन् । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मूल नारासहित प्रतियोगिता गर्न लागेको हो ।

उक्त प्रतियोगिता कालिका गाउँपालिकाको सहिदगेट कालिकास्थानबाट शुरू भई घुम्ती बजार, लामाटोल, गुम्बाडाडा, स्याउबारी, गणेश हिमाल र त्रिशुलीको नौकुण्ड गाउँपालिकाको कोकिल, आरूखर्क, गोर्मु, सरस्यु, किमार्जाेङ, खाल्चेत, जिवजबे हुँदै ३५ किलो मिटर पार गरेपछि कालिका हिमालयन क्याम्पसमा पुगेर टुङगिने छ । करिब १ सय ५० जनाको सहभागी रहनेछन् ।

पुरूषतर्फबाट इलिट, जुनियर र मास्टर विधामा तथा महिलातर्फ इलिट विधामा प्रतियोगिता हुनेछ । इलिटतर्फ शीर्ष तीन हुनेलाई क्रमशः ४० हजार, २० हजार र १५ हजार नगद पुरस्कार दिइनेछ । यस्तै चौथोदेखि दशौं स्थानसम्म आउनेलाई क्रमशः ७ हजार, ६ हजार, ५ हजार, ४ हजार, ३ हजार, २ हजार, १ हजार ७ सय नगद पुरस्कार प्रदान गरिनेछ । मास्टर्स र जुनियरका शीर्ष तीन स्थानमा आउनेले क्रमशः १५ हजार, १० हजार र ७ हजार नगद पुरस्कार पाउनेछन् ।

पत्रकार सम्मेलनमै दुई आयोजकबीच सम्झौता पत्रमा हस्ताक्षर पनि भयो । परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी र रसुवा साइक्लिङ संघका अध्यक्ष दावा तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरे । सदस्य–सचिव भण्डारीले प्रतियोगिताका लागि परिषद्ले १० लाख उपलब्ध गराउने बताए । प्रतियोगिता सञ्चालन गर्न करिब २१ लाख खर्च हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्