सोसिडाडद्वारा ओसासुना पराजित



मेड्रिड, (एजेन्सी) ।

स्पेनिस ला लिगामा रियल सोसिडाडद्वारा ओसासुना पराजित भएको छ । आइतबार राति भएको खेलमा सोसिडाडले ओसासुनालाई उसैको मैदानमा २–० गोलले हराएको हो । सोसिडाडको जितमा माइकल मेरिनो र एडनान जानुजाजले गोल गरे । दुवै गोल दोस्रो हाफमा गरेको सोसिडाडले ७२औं मिनेटमा खाता खोलेको थियो । मेरिनोले पोर्टुको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाए । १० मिनेटपछि जानुजाजले पेनाल्टीमा गोल गर्दै सोसिडाको अग्रता दोब्बर बनाए । डिबक्सभित्र ओसासुनाका उनै गार्सियाले फाउल गरेपछि सोसिडाडले पेनाल्टीको अवसर पाएको थियो ।

जितसँगै १३ खेलमा आठ जित, चार बराबरी र एक हार खेपेको सोसिडाडको २८ अंक छ । यता, सोसिडाडसँग पराजित ओसासुना १९ अंक छ । यस्तै अर्को खेलमा सेभियाले १० खेलाडीमा समेटिएको रियल बेटिसलाई उसैको मैदानमा २–० गोलले हरायो । जितसँगै सेभियाले तीन अंक जोडेको छ ।

टोलीको जितमा मार्कोस अकुनाले ५५औं मिनेट गर्दा ८१औं मिनेटमा आत्मघाती गोल उपहार पाएको थियो । बल बचाउने क्रममा हेक्टोर बेलेरिनको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो । ४५औं मिनेटमा गुईडो रोड्रीग्वेज दोहोरो पहेँलो पाउँदै बाहिरिएपछि १० खेलाडीमा समेटिएका बेटिस दबाबमा परेको थियो । सेभियासँगको हारेको बेटिससँग २१ अंक छ ।

अर्को खेलमा साविक विजेता एट्लेटिको मेड्रिड भ्यालेन्सियासँग ३–३ गोलको बराबरीमा रोकिएको छ । भिल्लारियलले गेटाफेलाई १–० गोलले पराजित गरेको छ । मालोर्का र इल्चेले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

प्रतिक्रिया दिनुहोस्