लिभरपुलको पहिलो हार



लन्डन, (एजेन्सी) ।

इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामले लिभरपुललाई यस सिजनकै पहिलो हारको स्वाद चखाएको छ ।

आइतबार राति भएको लिगको ११औं साताको खेलमा वेस्ट ह्यामले लिभरपुललाई ३–२ गोल अन्तरले स्तब्ध बनाएको हो । आफ्नो घरेलु मैदानमा वेस्ट ह्यामले बलियो लिभरपुलविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै सुखद् नतिजा निकाल्न सफल भयो । यसअघि लिगमा एक मात्र अपराजित टिमका रूपमा रहेको लिभरपुलको अपराजित यात्रा पनि अब यहीं टुंगिएको छ ।

खेलको चौथो मिनेटमै लिभरपुलका गोलकिपर एलिसन बेकरले आफ्नै पोस्टमा गोल गरेपछि वेस्ट ह्यामले खेलमा अग्रता बनाएको थियो । तर, खेलको ४१औं मिनेटमा लिभरपुलका लागि ट्रेन्ट अलेक्जान्डर अर्नोल्डेले फ्रिकिकमार्फत् दर्शनीय गोल गरेपछि खेल पहिलो हालसम्म १–१ गोलको बराबरीमा सकियो । तर, दोस्रो हाफमा वेस्ट ह्यामले लिभरपुललाई स्तब्ध बनायो ।

घरेलु टोली वेस्ट ह्यामका लागि खेलको ६७औं मिनेटमा पाब्लो फोर्लान्सले उत्कृष्ट गोल गरेर खेल २–१ बनाए । त्यसको सात मिनेटमै वेस्ट ह्यामले तेस्रो गोल पनि थप्यो । यसपटक फ्रिकिकबाट सिर्जित पासमा कुर्ट जोउमाले हेडिङमार्फत् उत्कृष्ट गोल गरेर खेल ३–१ बनाए । लिभरपुलका डिफेन्डरले लाइन लागेर मार्क गरे पनि जोउमाले कठिन कोणबाट उत्कृष्ट हेडिङ गोल गरेर लिभरपुललाई हारको बाटोमा धकेलेका थिए ।

त्यसपछि ८३औं मिनेटमा लिभरपुलका लागि डिभोच ओरिगीले डीबक्स अघिबाट उत्कृष्ट कला देखाउँदै शानदार गोल गर्न सफल भए । उनको गोलले लिभरपुललाई खेलमा फर्काउने संकेत दिएको थियो । तर, थप गोल गर्न नसक्दा वेस्ट ह्यामले आफ्नो घरेलु मैदानमा खेल ३–२ ले जित्न सफल भयो । वेस्ट ह्यामका लागि यो जारी सिजन सातौं जित हो ।

यो जितपछि विजयी वेस्ट ह्यामको खातामा २३ अंक भएको छ भने लिभरपुलको खातामा २२ अंक छ । यससँगै लिभरपुलको २५ खेलको अपराजित यात्रा पनि यहीं टुंगिएको छ । यसअघिसम्म सबैखाले प्रतियोगितामा पछिल्ला २५ खेलमा लिभरपुल कुनै खेलमा पनि हारेको थिएन ।

आइतबार राति नै भएका अन्य खेलहरूमा आर्सेनलले वाटफोर्डलाई १–० ले हराउँदै स्पष्ट तीन अंक जोड्यो । आर्सेनलको जितमा स्मिथ रोवेले खेलको ५६औं मिनेटमा गरेको गोल नै निर्णायक सावित बन्यो । उक्त खेलको ८९औं मिनेटमा कुक्काले दोहोरो पहँेलो कार्ड बेहोरेपछि वाट्फोर्ड बाँकी समय १० खेलाडीमा समेटिएको थियो । त्यस्तै, लिड्स र लेस्टर सिटीले १–१ तथा टोटेनह्याम र एभर्टनले गोलरहित बराबरी खेल्दै समान अंक बाँडे ।

प्रतिक्रिया दिनुहोस्