कर्मचारीतन्त्र र कर्मचारी



  • पेशल आचार्य

नेपाली उखान छ– ‘कुखुरो काट्यो दशैँ, झोला बोक्यो बसैँ ।’ यो कर्मचारीलाई भनेर बनाइएको हुनुपर्छ । संसारको ब्युरोक्रेसी हेर्दा फस्ट कन्ट्री भनिने बेलायत, अमेरिका, युरोपका केही स्केन्डेनेभियन देशहरू र एसियाका धनी एवं सौविध्यपूर्ण जीवनशैलीमा विचरण गरिरहेका देशहरू जापान, सिङ्गापुर, मलेसिया र दक्षिण कोरियामा विधि/प्रविधिको प्रचुर विकास भैसकेकाले जनता जुनसुकै नामबाट शासित हुनुपरे पनि वर्तमान शताब्दीमा अत्याधुनिक प्रजातन्त्रको महसुस गर्न पाएका छन् । त्यसैले त्यहाँको राजनीतिक अवस्था र ब्युरोक्रेसीमा तादात्म्यता रहेको पाइन्छ । आफ्नो सेक्टरका कुनै कुरामा कसैले कसैलाई अनावश्यक प्रेसर नदिने र कार्य सम्पन्नताका लागि टाङ नअड्याउने प्रवृत्ति देख्न पाइन्छ ।

यो सिस्टम हामीजस्तो सिस्टमको भर्खर–भर्खर खोजी गरिरहेका मुलुकहरूका लागि काम लाग्छ तर हाम्रो देशमा जुन पार्टी सरकारमा गयो उसैको सिता खाएर गीता गाउनुपर्ने प्रवृत्ति देख्दा योग्य, सीपयुक्त र स्वाभिमानी मानिसहरूको मन कुँडिइरहेको छ । अहिलेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले पनि सो कुराको सही मानेमा जवाफ दिन सकेन । यसका लागि परिवर्तनमा लागेका तमाम नेता र कार्यकर्ताहरू जिम्मेवार हुनुपर्छ । अहिले हामीले जे–जस्तो नेपाल भोगिरहेका छौं त्यसमा वर्तमानमा क्रियाशील सबै नेता र उपल्लो तहका कर्मचारीहरू नै जिम्मेवार छौं । आफ्नो कार्यक्षेत्र नहोला र समग्रतामा उनीहरूले त्यो जिम्मा लिनुपर्ने देखिन्छ ।

वर्तमान अवस्थामा एकादुई अपवादलाई छाडेर अफ्रिकाका अधिकांश देशहरू, मध्यपूर्वका केही देशहरू र दक्षिण एसियाका अधिकांश देशहरूमा पुरातन सोच समझको कर्मचारीतन्त्र र नेतातन्त्रका बीचमा सत्तामा जानका लागि हुने मिलिभगत, अदृश्य डिलका फोहोरी परम्पराहरू अनि राजनीतिक नियुक्तिमा मिलाई–मिलाई बाँडीचुँडी ‘भाग शान्ति जय नेपाल’ गर्ने प्रवृत्ति बढ्दो छ । लोकतन्त्र नाम दिनुहोस्, समावेशिता भन्नुस् या प्रजातन्त्र जेसुकै नामले पुकार्नुस्, ती सबै शासन व्यवस्थाका लागि माथिका प्रवृत्तिहरू सुसमाचार पक्कै होइनन् ।

एउटा दृष्टांश गज्जबको छ । जुन बेला भारत स्वतन्त्र हुँदै गर्दा अङ्ग्रेजले भारतीयहरूमध्ये टाठाबाठा र बलिया बाङ्गाहरूलाई स–साना कामका जिम्मेवारी दिने गर्दथे । समग्र भारतभरि पूरै ब्युरोक्रेसीका उपल्लो तहमा अङ्ग्रेजहरू नै पदासीन थिए । खासगरी त्यो समयमा ताडको चोपबाट रक्सी बनाउने काम भारतभरि हुन्थ्यो । सरकारका प्रतिनिधिरूपमा अख्तियारी पाएका राजस्व उठाउने ‘डफेदार’ भारतीयहरू ताडको रूख गणनाका लागि फिल्ड जान्थे ।

उनीहरू सुदूर गाउँ–बस्ती र किसानका घर–घुरेनमा पुगेर ताडका रूखहरू गणनामा दुई फर्मुला प्रयोग गरी जसबाटै उनीहरू बठ्याइँले घोटाला गर्दथे । एक त उनीहरू भएभन्दा कम रूख टिपाएर किसानसँग घूस खान्थे भने अर्कातिर भएको साबिक संख्या नै देखाएर सरकारलाई मौज्दात देखाउँथे । यसरी ताड गणना गर्ने र घुमेर खाने मानिसलाई त्यो जमानामा ‘टन्डेल’ र उनीहरूका कामलाई ‘टन्डेलगिरी’ भनिन्थ्यो । पछि कालान्तरमा त्यही टन्डेलगिरी शब्द अपभ्रंश भई ‘टन्डेली’ भयो । अहिले कोही व्यक्ति काम नगरी डुलेर मात्रै खान्छन् भने त्यस्तालाई ‘टन्डेली’ भनिन्छ । यो लवज नेपालीमा हुबहु आएको छ ।

टन्डेली गर्नेको शैलीलाई लिएर कर्मचारीहरूको प्रवृत्ति कस्तो हँुदो रहेछ भन्ने थाहा हुन्छ । दन्त्यकथामा एउटा स्यालले बाघद्वयलाई लडाएर अन्त्यमा ‘मेरै मामाको जीत’ भनेझैँ गर्छ । गरिब र सिस्टम नबसेका देशमा कर्मचारीहरूको तालसुर ठ्याम्मै स्यालको झैँ हुन्छ । उनीहरू लोक सेवा परीक्षाका अनेक चन्द्रमा रटेर निर्णायक तहमा त पुगेका हुन्छन् तर ऐन मौकामा तारा गन्ने स्थितिमा आम जनतालाई पुर्‍याइदिन्छन् । ‘सक्नेले छाल गनेर खान्छन्’ भन्ने आम बुझाइ छ । नेपाली समाजमा ठाउँ पर्दा र कमाउन नसक्ने कर्मचारीलाई उल्टै ‘नामर्द’ भन्ने सोच रहिआएको छ । यो आधुनिक जमानामा राख्न नहुने सोच हो तर नेपालीको मानसिकता यसै गरी विकसित भएको छ ।

अङ्ग्रेजले भारतमा धेरै कुराको सिस्टम बसाएर गए । एउटा मार्मिक भनाइ छ– ‘अङ्ग्रेज चले गए मगर अङ्ग्रेजी छोडकर ।’ यसले बताउन खोजेको कुरा भारतीयहरू बेलायतीहरूका अनुयायी हुन् । त्यहाँको कर्मचारीतन्त्र र काम गर्ने विधि/प्रक्रिया भनेको तलबाट माथिसम्म जाहेर गर्ने र हाकिमले तोकादेश/निर्णय गर्ने हो । प्रक्रियामा फायल क्रमशः माथि जाने र फेरि माथिबाट तल आउने जुन सिस्टम छ त्यही भारतीय सिस्टमलाई हामीले यहाँ कपी–पेस्ट ग¥यौं । कतिपय सवालमा यो सिस्टम व्यावहारिक देखिए तापनि कहिलेकाहीँ भने साह्रै खर्चिलो र लामो देखिन्छ । फास्ट ट्रयाकबाट समेत हुने कामहरू हामीकहाँ घुमाउरो बाटो भएर गर्नुपर्दा शीघ्र काम दिने/लिने प्रविधिमा बानी परेकाहरू दिक्क हुने अवस्था सिर्जना हुन्छ ।

उहिले जुद्ध शमशेरका पालामा कुनै दुर्गम गाउँमा आगो लाग्यो । पीडित गाउँलेले सोको उजुरी गाउँमा रहेको स्थानीय प्रहरी चौकीमा गर्‍यो । उजुरी चौकी, थाना, गढी, गोश्वारा हुँदै श्री ३ का हजुरियासामु पुग्दा ३ महिना ३ दिनको समय बितेछ । राणाजीको मुखारी (मुख धुने समय) का बेला पारी अदपसाथ हजुरिया (वर्तमानको पीए) ले डराई–डराई श्री ३ मा आगोले सखाप पारेको बिन्ती बिसाउँदा श्री ३ बाट ‘तुरून्तै निभाइदिनू’ भन्ने हुकुम बक्स भएछ । सो आदेश प्रक्रियाबाट क्रमशः ओरालो झर्दा ६ महिना ६ दिनमा गरिबका घरमा तामेल हुन पुगेछ । ताजुब त के भयो भने, त्यो आदेश आइपुग्दा गरिब बबुरोले सकी नसकी अर्को झुप्रो बनाएर फेरि जहान–बच्चालाई झुप्रामा राखेर गोरखधन्दामा लागेका बेला सरकारका सिपाहीहरू आएर श्री ३ को आदेश परिपालन गर्नका लागि भएको झुप्रोमा आगो झोसी पानी छर्केर निभाउन लगाएका थिए रे ! यस्तो बहुलठ्ठी काम गर्ने कर्मचारीहरू राणा शासनमा कुनै कमी थिएनन् ।

ठूलो कुरा गरेको होइन, कतिपय सवालमा यो उत्तरआधुनिक जमानामा हामी समेत उहिलेकै राणा शैलीमै काम गरिरहेछौं । हाम्रा अड्डाअदालतहरूमा मुद्दा हालिने, छिन्ने र मिलापत्र गरिने तमाम प्रक्रिया÷पद्धति हेर्दा जो–कोही दिक्क हुन्छन् । हाम्रो प्रशासन संयन्त्र र शासन यन्त्रका भनाइ÷गराइमा कहिल्यै बोली मिलेनन् । प्रक्रियाले विवेक देख्दैन । भारतमै एकजना आरके नारायणन् भन्ने कथाकारले ‘पाउदानी’ शीर्षकमा एउटा मार्मिक कथा लेखेका छन् । एकजना निम्न वेतनभोगी पदका क्लर्कले आफूलाई जाडोमा हिटर ताप्नका लागि गोडा अड्याउन पाउदानी चाहियो भनेर हाकिमलाई पत्राचार गरेर प्रक्रिया थाल्दा चाहिएको पाउदानी उनको टेबलमा आएन तर उनले बनाएको मिसिल नै पाउदानी जत्रो मोटो भएर एक वर्षको समय अन्तरमा देखा प¥यो । अन्त्यमा उनले त्यही मिसिलको फायललाई पाउदानी बनाएर हिटर तापेका थिए रे ! यस्तो व्यङ्ग्यात्मक कथा लेख्न लगाउने भनेकै त्यहाँको ब्युरोक्रेसी सिस्टम हो । हाकिमका लागि खरिद्नुपर्ने सामग्री भएको भए त्यो क्षणभरमै खरिद भई दाखिला हुन्थ्यो । जब मान्छे हेरेर व्यवहार गरिन्छ त्यहाँ विवेक र प्रविधिले पल्टा खान्छ अनि शुरू हुन्छ तजबिजी अधिकार र हैहुकुम शैली । यो शैली नेपालमा संघीयताको अभ्यास भैरहँदासमेत विभिन्न छाँटका पात्र, परिवेश र चरित्रका रूपमा देखिए । भनेपछि हाम्रो सोच र कार्यशैली आधुनिक विधि/प्रविधिमा गैसकेको रहेनछ ।

अमेरिकामा गतवर्ष एउटा ग्रोसरी पसलमा चुरोट किन्ने सवालमा भएको २० डलरको केसमा अमेरिकी पुलिसद्वारा घाँटी थिचेर मारिएका अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोयडकी छोरीसामु निर्वाचित राष्ट्रपति जे वाइडेनले घुँडा टेकेर माफी मागेको तस्वीर केही महिनापछि फेसबुकमा भाइरल बनेको थियो । सिस्टम भनेको त त्यस्तो हुनुपर्छ । आफू राष्ट्रपति नभएको बेलाको घटनामा समेत आफू सत्तामा पुगेपछि जिम्मेवारी लिएर जुन शैलीमा वाइडेनले माफी मागे त्यसले त्यो देशको शासकको शासन गर्ने ‘एक्सक्युज कल्चर’ देखाउँछ ।

तर हाम्रो देशको अवस्था देख्दा भने असल शासनका हिमायतीहरूलाई दिउँसै रत्नपार्क (हाल शंखधर पार्क) मा गएर डाँको छोडेर रून मन लाग्छ । देशमा देखिएको कर्मचारीतन्त्रको विकृतिबारे असल शासन अभियन्ता केदार खड्का भन्छन्– ‘श्रीमान् चोलेन्द्र, म्यारिज दिमागी खेल हो भन्दै व्याख्या गर्नु र सर्वोच्च हाँक्नु फरक रहेछ भन्ने बुझेर अब मार्ग प्रशस्त गरी सर्वोच्च अदालतको ‘गरिमा’ बचाइदिनुस् ।’ उनको यो धारणा गठबन्धन सरकारले ८८ औं दिनमा मन्त्रिमण्डललाई पूर्णता दिँदा गजेन्द्र हमाल प्रन्याको कोटामा मन्त्री भएका भन्ने सन्दर्भमा आएको हो ।

उनी अझ अघि लेख्छन्– ‘सर्वोच्चका प्रधानन्यायाधीशलाई संवैधानिक परिषद्मा राख्दा राजदूत र संवैधानिक नियुक्ति डुङ्डुङ गन्हायो, अब यो व्यवस्था नै हटाउनुपर्छ !’

कर्मचारी तन्त्र र कर्मचारीहरूको कहाली लाग्दो ‘गेम प्लान’ देखेर मन थाम्न नसकी उनी व्यङ्ग्य कविता बनाएरै प्रहार गर्छन्–

‘प्रतिगमन सच्चियो भन्दै दरबार छिर्ने ‘देउवा’
राजाका पालामा दाम चढाउने ‘माधव नेपाल’
सांस्कृतिक राजा चाहियो भन्ने ‘डा.बाबुराम’
सिंहानुकजस्ता राजा ल्याउन तयार ‘वैद्य’
जोगीको हूलबाट सत्तारोहण गर्न चाहने ‘ज्ञानेन्द्र’
दिक्क भएर आत्महत्या गर्न चाहने ‘प्रचण्ड’
सत्ता बाहिरिँदाको औडाहा ओकल्ने ‘ओली’
सरकारमा मन्त्री भाग खोज्ने प्रन्या ‘चोलेन्द्र’
वाह ! हाम्रा नेताको विगत र वर्तमान ।’

‘कर्मचारीतन्त्र र कर्मचारी फरक–फरक कुरा हुन् । कर्मचारीतन्त्र प्रणाली हो, राम्रो नभए फेर्न सकिन्छ, फेर्न पाइन्छ । त्यसका लागि नीतिगत निर्णय गरे भयो । नीतिगत निर्णय र सुधार राजनीतिक नेतृत्वले गर्ने हो । कर्मचारी वा कर्मचारीतन्त्रले होइन । कर्मचारी पेसामा भएका सार्वभौम नागरिक, व्यक्ति वा मान्छे हुन् । लोकतन्त्रमा प्रत्येक व्यक्तिको इज्जत, सम्मान र मर्यादा बराबर हुन्छ । कुनै पनि कर्मचारी वा अन्य व्यक्तिसँग कुनै प्रकारको गैरन्यायिक व्यवहार गर्ने अधिकार कुनै सिके राउत नामको मान्छेसँग हुनै सक्दैन । कुनै समूहको प्रायोजित हुलदङ्गा र अमानवीय व्यवहारलाई जनकारबाही भन्न मिल्दैन । गुहु, गोबर, मोसो दलेर मान्छेलाई नाङ्गै पारी शहर घुमाउनेजस्तो घृणित काम कतै जनताले गर्छ ? असम्भव । राउत समूहको अराजकता र उद्दण्डता निःशंकोच नियन्त्रण गरिनुपर्छ ।’ –राजनीतिक विश्लेषक तथा जसपा नेता डम्बर खतिवडाको तीखो अभिव्यक्तिले कर्मचारीतन्त्र र कर्मचारीका बारेमा खुलस्त मीमांसा गरेको छ । केही दिनअघि जनकपुरमा सिके राउतका कार्यकर्ताहरूले इन्जिनियरमाथि गरेको सार्वजनिक दुव्र्यवहारले मुलुकमा कर्मचारीतन्त्र र कर्मचारीका बारेमा नीतिगत तहमा बस्नेले ठन्डा दिमागले एकफेर सोच्ने बेला आएको छ । कुशवाहा कालोमोसो प्रकरणले सोही कुराको द्योतन गर्दछ ।

प्रतिक्रिया दिनुहोस्