हाम्रो खुशी हाम्रो ‘आज’मा छ



  • प्रेम रावत

मानिसको स्वभाव नै हो, उसले कुनै कार्य तुरुन्तै गर्छ भने केहीलाई भोलिका लागि छोडिदिन्छ । प्रश्न के हो भने, उसले कस्तो प्रकृतिको कामलाई तुरुन्तै गर्छ अनि कुन कार्यलाई भविष्यका लागि छोडिदिन्छ ? के देखिएको छ भने, बाहिरी रूपबाट हेर्दाखेरि त्यति महत्त्वपूर्ण नदेखिएका कुरालाई धेरैजसो भोलिका लागि थाँती राख्ने गरिन्छ । मानिसले आफ्नो दिनको सफलतालाई वस्तुतः उसले के–के हासिल गरेको छ भनेर भौतिक उपलब्धिका आधारमा मूल्याङ्कन गर्ने गर्छ । तर, के मानिसले केही समय धैर्यधारण गरेर कहिल्यै यस्तो सोचेको छ– जुन जीवनमा ऊ भौतिक सुख प्राप्त गर्ने लालसा लिएर दिनरात लागिपरेको छ, त्यो जीवन उसले किन पाएको हो ? उसको जीवनको उद्देश्य के हो ?

एकातिर सारा संसारको जिम्मेवारी छ भने अर्कातिर तपाईँको जीवन छ । यो तपाईँलाई दिइएको हो र यो तपाईँका लागि हो । तपाईँले जुन चीज प्राप्त गर्नुभएको छ, के त्यसलाई सम्हाल्नका लागि आजसम्म कुनै कोशिश गर्नुभएको छ या छैन ? आजको दिनमा प्राप्त भएको अनमोल चीजलाई जोगाउनुभएको छ कि छैन ?

पानीको कमी नभएको स्थानमा मानिसहरू पानी खेर फालिरहेका हुन्छन् । पानीको अभाव भएका क्षेत्रमा त्यो धारोको मुनि पनि एउटा कुनै भाँडो थापिएको हुन्छ पानी खेर नजाओस् भनेर । तपाईँको श्वास पनि यस्तै कुरा हो । एकदिन आयो । त्यो पहिलो श्वास थियो । अनि, एकदिन जानेछ र त्यो अन्तिम श्वास हुनेछ अनि बीचमा रहेको दिन नै आजको दिन हो ! यही आजको दिनलाई तपाईँ संसारका सबै काम सम्हाल्नका लागि खर्चिनुहुन्छ । तथापि, जुन अनमोल श्वास पाइएको छ नि त्यसमा ध्यानै दिनुहुन्न । वास्तवमा हामी त व्यापार वृद्धि भएको दिन, राम्रो जागिर प्राप्त भयो भने, यस्ता कुराका आधारमा त्यस दिनलाई उत्तम समय मान्छौँ । तर, सबैभन्दा उत्तम दिन त कुन हो भने, जुन दिनमा तपाईँले भन्नुहुनेछ– ‘आजको दिनमा मैले यो जीवन पाएको छु । मेरो श्वास चलिरहेको छ । म जीवित छु । मसँग यो मौका प्राप्त भएको छ । म यसलाई खेर फाल्न चाहन्न । आजको दिनमा मैले त्यस कुरालाई बुझ्न पाएको छु, जसका बारेमा ठूला–ठूला विद्वान्हरूले आफ्नो पूरा जीवनभर चर्चा गर्दै आएका छन् ।’

यो श्वासको मूल्यलाई बुझ्न सकिन्छ । यो कुरालाई बुझेका दिनदेखि यो जीवन व्यर्थ हुनेछैन । त्यसदिन तपाईँले पनि त्यो हृदयरूपी भाँडोलाई त्यो धारोमुनि थाप्नुहुनेछ । त्यसै खेर गइरहेको पानी तबदेखि बचत हुन थाल्नेछ । जिन्दगी सुध्रिन थाल्नेछ । त्यो चीज प्राप्त हुनेछ, जसबाट हामीले आफ्नो जीवनलाई पूर्णता प्रदान गर्न सक्नेछौँ । हरेक दिन आभारयुक्त हृदयले, चैन अनि आनन्दले विभोर भएर भन्न सक्नुहुनेछ– ‘हे सृष्टिकर्ता, तपाईँलाई लाखौँलाख आभार ।’ त्यसपछि के भन्नुहुनेछ भने, आजको दिन नै मेरो जीवनमा पहिलो दिन हो । यदि भोलि फेरि यो दिन आयो भने म यसलाई त्यसै खेर जान दिनेछैन । यसै गरी हामीले हरेक दिनलाई स्वागत गर्नु आवश्यक छ । आउने भोलिका लागि होइन, न त बितेको हिजोका लागि नै, तर आजका लागि अनि सधैँका लागि । किनभने, यो जीवनमा जति पनि दिन आउँछन्, ती सबै ‘आज’ नै भएर आउँछन् । भोलि, पर्सि, निकोर्सि भएर आउँदैनन् । ‘आज’मा नै आनन्द लुकेको छ ।

अहिले हामीसँग समय छ । हामीले भोलिलाई सपार्नतिर नभएर आजकै बारेमा सोच्नुपर्छ । आज नै आफ्नो हृदयलाई शान्ति र आनन्दले भर्नुहोस् । भोलि आओस्, नआओस् मैले यसलाई महत्त्व दिनु आवश्यक छैन । यदि भोलि आयो भने म त्यसलाई पनि आज स्वागत गरेजसरी स्वागत गर्नेछु । किनभने मेरो हृदयरूपी भाँडो दिन–प्रतिदिन भरियोस् र जीवन सफल होओस् ।

मूल कुरा त यो श्वासका बारेमा नै हो । यो श्वास कति ठूलो आशीर्वाद हो तर हामी यसलाई बिर्सन्छौँ ! मानिसमा कत्रो कृपा भएको छ, किनभने उसले यो जीवन प्राप्त गरेको छ, यो शरीर प्राप्त गरेको छ अनि हरक्षण उसभित्र यो श्वास स्वतः चलिरहेको हुन्छ । जीवनको पहिचान नै के हो भने, मानिसमा यो श्वास चलिरहेको छ या छैन ? यो श्वास त सृष्टिकर्ताको कृपाले आफैँ आउँछ अनि आफैँ जान्छ पनि । आफ्नो पछाडि उसले यस्तो समयलाई छोडेर गएको हुन्छ, जुन कहिल्यै फर्केर आउँदैन । जब एउटा–एउटा श्वास लिनका लागि पनि संघर्ष गर्नुपर्ने हुन्छ नि ! तब त्यही अन्तिम समयमा मात्रै यसको महत्त्व थाहा हुन्छ ।

तपाईँको छेउछाउमा जे–जे भइरहेका छन्, तपाईँको जीवनमा जेसुकै भइरहेको भए पनि तपाईँ त्योभन्दा माथि हुनुहुन्छ । जसरी फोहोर पानीमा पनि कमलको फूल रहन्छ तर त्यसभन्दा माथि नै रहन्छ । तपाईँ पनि त्यसरी नै रहनुभएको छ ।

किनभने, तपाईँको जीवनको यात्रा तपाईँको पहिलो श्वासबाट भएको थियो । त्यस क्षणदेखि यो श्वासको आउने–जाने क्रम रोकिएको छैन । यो जीवनभरि नै तपाईँको साथमा रहनेछ । तपाईँको अन्तिम क्षणसम्म । यो श्वास तपाईँभित्र आइरहन्छ भन्ने कुरा तपाईँलाई थाहा छ । यसमाथि ध्यान दिनुहोस् । यदि तपाईँले यही आइरहेको श्वासलाई आफ्नो जीवनमा महसुस गर्नुभयो भने यसले आराम, चैन अनि सन्तुष्टि प्रदान गर्दछ । तपाईँ जीवित हुनुभएकोमा आभारी हुनुहोस् । यो अस्तित्व हुनुलाई प्रशंसा गर्ने गर्नुहोस् ।

मानिसको जीवनमा बुझ्नुपर्ने कुराहरू धेरै छन् । तथापि, यो जीवनलाई नै बुझ्नु अत्यावश्यक छ । तपाईँको जीवनको सबैभन्दा पहिलो कुरा के हो ? ‘तपाईँ भित्रबाटै खुशी हुन चाहनुहुन्छ । तपाईँ आफ्नो जीवनमा सन्तुष्ट हुन चाहनुहुन्छ ।’ यस्तो इच्छा हरेक व्यक्तिको जीवनमा हुने गर्दछ । तर, आज मानिस लोभ–लालचको दलदलमा फसेको छ । मलाई यो पनि चाहिएको छ, त्यो पनि चाहिएको छ । यिनै चाहना पूरा गर्छु भन्दाभन्दै हामी आफ्नो पूरै जीवनलाई बिताइदिन्छौँ । तर, आफ्नो वास्तविक आकाङ्क्षालाई बुझ्नै सक्दैनौ । हाम्रो वास्तविक चाहना हो– शान्तिको चाहना । जीवनमा शान्तिको अनुभव गर्न सकिएन भने जहाँ गए पनि दुःखी नै भइरहिन्छ ।

यसै सन्दर्भमा एउटा कथा छ । एकजना लोभी प्रवृत्तिका राजा थिए । उनलाई थरी–थरीका स्वादिष्ट भोजन खाने इच्छा भइरहन्थ्यो । उनले आफ्ना भान्सेलाई भने– ‘एकदम मीठा–मीठा खानाका परिकार तयार पार !’ त्यसैले भान्सेले के सोच्यो भने यसपटक त म यस्तो मीठो परिकार बनाउँछु जसले गर्दा राजा पनि खुशी भएर मलाई पुरस्कार दिऊन् ।

अनि, उनले निकै मीठो मिठाई तयार पारे । त्यसको वासना पूरै राजमहलमा पैmलियो । राजाले पनि त्यो बास्नाको सुगन्ध लिएपछि उनलाई पनि असाध्यै मन प¥यो । उनले यो सोचे, ‘मलाई लाग्छ, पक्कै पनि भान्सेले नै यस्तो स्वादिष्ट भोजन तयार पारेको हुनुपर्छ ।’

बिस्तारै–बिस्तारै राजमहलका कुनाकानीमा भएका मुसाहरूसम्म पनि त्यो मिठाईको बास्ना पैmलँदै थियो । हुँदा–हँुदा टाढा–टाढाबाट मुसाहरू त्यो बास्नालाई पछ्याउँदै दरबारमा आउन लागे । पूरै महल मुसैमुसाले भरिभराउ हुन लाग्यो । कहिले पर्दामाथि मुसा चढिरहेका छन्, कहिले खानामा पसिरहेका छन् । राजालाई यो सबै घटनाले सही नसक्नु भयो ।

राजाले आफ्ना मन्त्रीहरूको सभा बोलाएर भने– ‘यी सबैलाई हटाउने कुनै उपाय खोजौँ !’ मन्त्रीहरूले भने, ‘महाराज ! एउटा तरिका छ । बिरालाहरूलाई बटुलौँ । बिरालालाई ल्याउनासाथ मुसा भाग्छन् ।’ राजाले आदेश दिए, ‘जानुहोस् ! राज्यका सबै ठाउँमा जति पनि बिरालाहरू छन्, सबैलाई समातेर ल्याउनुहोस् ।’

अब राजमहलका हरेक क्षेत्र बिरालाहरूले ढाकिएको छ । सबै मुसाहरू त भागे तर अब जता हे¥यो– बिरालै–बिराला छन् । बिरालाहरू कहिले आफ्ना नङ्ग्राले पर्दा च्यातिरहेका छन् त कहिले गलैँचालाई । राजालाई फेरि अर्को चिन्ताले दुखित तुल्यायो ।

राजाले फेरि सभा बोलाएर भने– ‘मुसा त भागे, अब बिरालाहरूलाई कसरी भगाउने !’ मन्त्रीहरूले भने, ‘महाराज ! कुकुरका डरले बिरालाहरू भाग्छन् ।’ राजाले सिपाहीहरूलाई आदेश दिए, ‘जानुहोस् ! जति पनि कुुकुरहरू छन्, सबैलाई यहाँ ल्याउनुहोस् ।’

सिपाहीहरूले कुकुरहरू लिएर आए । अब त जता हेरे पनि कुकुरै–कुकुर । कुकुरले पूरै राजमहललाई फोहोर बनाउन थाले । अब कुकुरबाट हैरान भएका राजा सोच्न लागे । अब के गर्ने ! कुकुरबाट बच्नका लागि हात्तीलाई झिकाइयो । त्यसपछि सबैतिर हात्ती नै हात्तीले ढाकेको छ । महलभरि तिनीहरूले भत्काउन–बिगार्न थाले । फेरि राजाले मन्त्रीहरूलाई मुसा ल्याउनका लागि आदेश दिए, किनकि हात्ती मुसासँग डराउँछ ।

अब फेरि मुसालाई ल्याइयो । सबै हात्ती त्यहाँबाट छोडेर अन्तै गए । पहिला जसरी नै सबैतिर मुसैमुसाको भीड देखिन थाल्यो । अनि, बल्ल राजालाई महसुस भयो– त्यही मिठाईको बास्नाका कारण यी सबै घटना घटिरहेका छन् । मुसालाई भगाउन उनले भान्सेलाई बोलाएर भने, ‘यो मिठाईलाई कतै टाढा लगी फ्याँकेर आऊ । अबदेखि यस्तो मीठो खानेकुरा कहिल्यै नबनाउनू ।’ अनि, मिठाईको सुगन्ध हटेपछि मुसाहरू त्यस राजमहललाई छोडेर अन्तै गए ।

सारा संसारको हालत यस्तै छ । लोभका कारणले हामी कुनै समस्यालाई उब्जाउँछौँ । त्यसपछि त्यसको समाधान खोज्छौँ । त्यो समाधानलाई खोज्दा–खोज्दा फेरि अर्को समस्या उत्पन्न हुन्छ । फेरि त्यो समस्याको हल खोज्न थाल्छौँ अनि अरू समस्या उत्पन्न हुँदै जान्छन् । यही क्रमानुसार हामी ती समस्यालाई समाधान गर्नतिर तल्लीन हुन्छौँ । लोभ नै गर्नु छ भने तपाईँभित्र जुन श्वास आइरहेको अनि गइरहेको छ यसका लागि लोभ गर्नुहोस् । यसलाई खेर जान नदिनुहोस् । लोभ र चाहनाले हामीलाई दुःख दिन थालेपछि हामीले के कुरामा ध्यान दिन आवश्यक हुन्छ भने, ‘हाम्रो वास्तविक चाहना के हो ?’ वास्तवमा हरेक व्यक्तिको हृदय आनन्दमा रहन चाहन्छ । अनि, जबसम्म आनन्द प्राप्त हुँदैन तबसम्म तपाईँको जीवन सफल हुँदैन । त्यसकारण यो संसारको इच्छारूपी बोझलाई बिसाउनुहोस् । अनि, त्यो चीजको दर्शन गर्नुहोस्, जुन हरेक समय तपाईँको श्वाससँगै तपाईँकै हृदयमा अवस्थित छ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्